Logo

आज हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै



Spread the love

आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सुरू हुने छठ पर्वका लागि राजधानीका आठ स्थानमा विशेष व्यवस्था गरिएको छ । बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ ।

विगत वर्षझैँ यो वर्ष पनि तराई र काठमाडौँमा समेत हर्षोल्लासका साथ यो पर्व मनाइने तयारी गरिएको हो । राजधानीको गुह्ेश्वरी, गौरीघाट, बालाजुको माछापोखरी, सानो गौचरणको गहना पोखरी, कालिमाटी, ललितपुरको कुपण्डोल, नख्खु दोबाटो गरी आठ स्थानमा यो पर्व मनाउनका तयारी गरिएको छ ।

राजधानीमा आयोजित छठ समारोहमा दुई ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता हुने भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले राजधानीको गुह्ेश्वर र कमलपोखरीमा आयोजित छठ पूजा समारोहमा राष्ट्रपति भण्डारीको सहभागिता हुने जानकारी दिए।

गृह्ेश्वरी छठ पूजा समितिका संयोजक राजकुमार पोद्दारले ६६५ जना ब्रतालुका लागि ठाउँ निर्माण गरिएको जानकारी दिए। गुह्ेश्वरीमा आयोजना हुने छठ पूजामा सहभागी ब्रतालुमध्ये ४० प्रतिशत पहाडी समुदायको सहभागिता हुने गरेको उनले बताए । यसपालि पहाडी समुदायको सहभागिता अझै बढ्ने विश्वास गरिएको उनले बताए ।

छठ पूजा समारोहमा विगतझैँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको जानकारी समेत उनले दिए।
कमलपोखरी छठ पूजा समितिका महासचिव रामकुमार जैनले ३१० जना ब्रतालुले आफ्नो ठाउँ (घाट) सुरक्षित गराइसकेको जानकारी दिए।  उनका अनुसार, गत वर्ष २७३ जनाले यहाँ छठ पूजा गरेका थिए । ठाउँ सुरक्षित गर्न अनिवार्य शुल्कको व्यवस्था नगरिएको उनले बताए ।
विगत आठ वर्षदेखि कमल पोखारीमा छठ मनाइँदै आएको र हरेक वर्ष पहाडी समुदायको सहभागिता बढ्दै गइरहेको जानकारी समेत उनले दिए।

उनका अनुसार यहाँ बसुन्धरा, थानकोट, कोटेश्वर, कालोपुल, रातोपुल, कपनलगायतका ठाउँबाट पहाडी समुदायको सहभागिता हुने गरेको बताए ।
उनका अनुसार, गत वर्ष पहाडी समुदायबाट ३० जना ब्रतालुको सहभागिता भएको थियो भने यो वर्ष ३५ जनाले ठाउँ सुरक्षित गराइसकेका छन् ।
ब्रतालु र भक्तजनको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा, ब्रतालुका लागि ओढ्ने ओछ्याउने कपडाको समेत व्यवस्था गरिएको छ । साथै आगो ताप्नका लागि दाउराको समेत व्यवस्था गरिएको छ ।
कमल पोखरीमा अतिथिको रुपमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको जानकारी उनले दिए। त्यसैगरी, छठ पूजा तथा समाज सेवा समिति, कुपण्डोलका अध्यक्ष राकेश मेहताले कुपण्डोलमा आयोजना गर्न लागिएको छठ पूजा समारोहमा सोमबार दिउँसोसम्म १५० जना ब्रतालुले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिए। विगत २१ वर्षदेखि छठ पर्वको आयोजना हुँदै आएको कुपण्डोलमा ब्रतालुबाट कुनै किसिमको शुल्क वा चन्दा नलिने गरिएको उनले बताए ।
यहाँ आयोजित छठ पर्वमा पहाडी समुदायको सहभागिता हरेक वर्ष बढ्दै गएको बताउँदै उहाँले गत वर्ष पहाडी समुदायबाट सातजना ब्रतालुको सहभागिता रहेकोमा यो वर्ष ११ जनाले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिए। (रासस) 

प्रतिक्रिया दिनुहोस्