बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’ को प्रदर्शन मिति घोषणा गरिएको छ । एक पोस्टर सार्वजनिक गर्दै निर्मात्री चोपडाले फिल्म ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुने जानकारी दिइन् ।
प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्स द्वारा निर्मित यो फिल्मको निर्देशन पाखी ए टायरवालाले गरेकी हुन् । फिल्मको कहानी तीन नेपाली बच्चाको वरिपरि घुमेको छ, जो आफ्नो अभिभावकबाट विछडिएका छन् । फिल्मले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका बच्चाको कथा वाचन गरेको छ ।
प्रियंकाले ट्विटरमार्फत फिल्मको रिलिज डेट घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्, ‘अन्ततः प्रतिक्षा सकियो । ‘पाहुना : द लिटिल भिजिटर्स’ सात डिसेम्बर २०१८ मा देशको सबै थिएटरमा रिलिज हुँदैछ र म यो खुसीको खबर दिन प्रतिक्षा गर्न सक्दिनँ ।’ फिल्म सिक्किम भाषामा बनेको छ ।
निर्देशक पाखी फिल्म आशाको संकेत रहेको बताउँछिन् । भन्छिन्, ‘फिल्मले संघर्षको क्रममा हौसला जगाउँछ । छाड्दिनु निकै सजिलो हुन्छ । आवश्यकताको समयमा हामीलाई आशाको निकै खाँचो हुन्छ । फिल्ममा एक ठाउँमा एक चरित्र भन्छ ‘पूरै अध्यारो कहिल्यै हुँदैन । उज्यालो सधैं हुन्छ ।’
जर्मनीमा गएको महिना सम्पन्न ‘श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल’ मा ‘पाहुना’ ले अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट फिल्म (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो । फिल्मको गएको वर्ष टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा वर्ल्ड प्रिमियर भएको थियो ।