नयाँ दिल्ली – भारतमा पेट्रोलीयम पदार्थको मुल्य घटेको छ । बिहीबार भारतीय सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । पेट्रोल र डिजेलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
घटाएको मूल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मूल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाइएको थियो । भारतका अर्थमन्त्री अरुण जेट्लीले डिजेल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने १.५ भारु बराबरको कर पनि कटौती गरिएको बताए । त्यसमा तेल बिक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैयाँ घटाउने भएका छन् ।
त्यसैगरी तेलको मूल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौति गर्न लगाएका छन् । उनका अनुसार प्रदेशमा डिजेल र पेट्रोलको प्रतिलिटर भारतीय मूल्य ५ रुपैयाँसम्म पनि घट्न सक्नेछ । भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ ।
नेपालमा भने केही साता अघीमात्र मुल्य बढाइएको थियो । भारतमा तेलको मुल्य घटेपछी नेपाली अधिकारीले औपचारिक रुपमा केही बोलेका छैनन । भारतभन्दा तुलनात्मक रुपमा नेपालमा पेट्रोलियम पदार्थको मुल्य सस्तो रहेको छ । त्यसैकारण नेपालसँग सिमाना जोडीएका भरतीय बजारहरुमा तेलको कालो बजारी हुँदै आएको थियो ।