१४ असोज- केही साता अघी मात्रै नेपालमा प्रयोग हुने सरकारी छापमा पनि गम्भिर त्रुटी फेला परेको थियो । नेपालको भुभाग नै समेटिएको थिएन त्यसमा । अहिले भने त्यो सच्याइएको छ । यस्ता खाल्का गम्भिर त्रुटी किन सरकारी स्तरबाटै हुन्छन त ? सोचनीय छ ।
फेरी, नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटरबाट घटेर १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र रहेको पाइेको छ । यो तथ्यांक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज २०७४ मा प्रकाशित ‘गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय’ पुस्तिकाबाट सार्वजनिक भएको हो ।
कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ । सुन्दै, पत्याउन गाह्रो । तर, यो वास्तविकता हो ।
त्यसमा नेपालको ७ सय ५३ वटै स्थानीय तहबारे पूर्ण जानकारी समेटिएको छ । हरेक स्थानीय तहका क्षेत्रफल, जनसंख्या लगायत तथ्यांक राखिएका छन्। हामीले हरेक स्थानीय तहका क्षेत्रफल जोड्यौं । सबैको योगफल आयो– १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र । नेपालको क्षेत्रफल ती सबै स्थानीय तहका क्षेत्रफलको योग हो । यति ठूलो मात्रामा अपुग हुँदा निःसन्देह प्रश्न उठ्छ– बाँकी भूभाग खोइ त ?
अपत्यारिलो यो अवस्था देखिएपछि हामीले पुस्तकको आधिकारिकता परीक्षण गरियो । त्यो संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नै प्रकाशन गरेको पाइएको छ । उक्त पुस्तिकामा तत्कालीन उप–प्रधानमन्त्री एवं विभागीय मन्त्री विजयकुमार गच्छदारको शुभकामना मन्तव्य छापिएको छ । त्यसैगरी राज्यमन्त्री जनकराज चौधरी, सचिव दिनेश कुमार थपलिया र सहसचिव डा.हरि पौडेलले पनि आफ्ना शब्द राखेका छन् ।