Logo

पाँच सय रुपैयाँ माग्दा आफ्नै भाइको हत्या



Spread the love

सल्यान जिल्ला शारदा नगरपालिका १ श्रीनगर बजारमा बस्ने  केशरसिंह बुढाथोकीले सहोदर भाइ प्रकाश बुढाथोकीको हत्या गरेका छन् ।

दाइ केशरसिंह सँग भाइ प्रकाशले ५ सय रुपैयाँ मागेका थिए । दुई भाइ बिच ५ सय रुपैयाँको कारणले भएको विवाद बढ्दै गएपछि दाइले भाइको हत्या गरेका थिए ।

गत भदौ १८ गते कोठामा प्रकाश मृत अवस्थामा फेला परेका थिए । दाइ केशरसिंहले आफ्नो भाइले आत्महत्या गरेको बताए पनि मृतकको गर्धन वरिपरि निलडाम देखिएपछि प्रहरीले अनुसन्धानको लागि दाइ र भाउजुलाई पक्राउ गरेको थियो  ।

जिल्ला प्रहरी कार्यालय सल्यानले घटना घटेको २२ दिन पछि पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गरेको छ । प्रहरीको अनुसन्धानमा दाइ केशरले भाइको हत्या गरेको स्वीकार गरेका छन् ।  

“भाइले म सँग ५ सय रुपैयाँ मागेको थियो, मैले सधैँ कति सताउँछस्, सय रुपैयाँ लैजा भन्दा विवाद भएको हो । विवाद भएपछि भाइले सुरुमा मलाई छातीमा हान्यो त्यसपछि भाइको घाँटीमा दुई पटक हातले हानेर खाटमा लडाए। खाटमा भाइ लडेपछि अब उसको ज्यान गयो, म फस्छु भनी टाइको पासो बनार्इ मारेर आत्महत्या गरे जस्तो बनाएको हुँ”- अभियुक्त केशरसिंहले जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको बयानमा  उल्लेख छ । पत्रकार सम्मेलनमा अभियुक्त केशरसिंह बुढाथोकीलाई भने उपस्थित बनाइएको थिएन ।

अहिले अभियुक्त केशरसिंहलाई प्रहरी हिरासतमा राखिएको र अबको १,२ दिनमा सबै फाइल सहित जिल्ला अदालत सल्यानमा पठाइने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अभियुक्त केशरसिंह वैदेशिक रोजगारी बाट बिदामा घर आएका थिए । घर आएको बेला विवाह समेत गरेका थिए तर विवाह गरेको ५ दिनमै भाइको हत्या गरेर प्रहरी हिरासतमा छन् ।

दुई भार्इकाे झगडा हुँदा दाइ केशरसिंहकी श्रीमती दिपा बस्नेतले छुटाउने प्रयास गरेको तर दिपाले झगडा सामान्य सम्झी भान्सा कोठामा खाना पकाउन गएकी थिइन् ।

भान्सा कोठा घटना भएको सुत्ने कोठा भन्दा एक तला मुनि घर सँगै सटेको छ । कोठाको आवाज भान्सा कोठामा मृतक कि भाउजूले नसुनेको साथै देवर हत्यामा दिपाको अहिलेसम्म कुनै स‌ंलग्नता नदेखिएकोले उनलार्इ तारिखमा छाेडिएकाे तर अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्