Logo

पूर्व प्रधानमन्त्री नजिबलाई थप २५ आरोप



Spread the love

क्वालालम्पुर, ४ असोज – मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप २५ विषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ ।

राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग गरेकोलगायतका आरोपहरू उहाँलाई लगाइएको हो ।

सयौँ लाख डलर उहाँको बैंक खाताबाट लेनदेन गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

नजिबका समर्थकहरूले क्वालालम्पुर अदालत अगाडी नजिबको पक्षमा प्रदर्शन गरेका थिए । उहाँलाई लगाइएका आरोपहरूमध्ये केही आरोप गम्भीर प्रकृतिका भएको बताइएको छ ।

यिनै आरोपलाई निर्वाचनका समय प्रचार गरिएका कारण गत मे महिनामा भएको संसदीय चुनावमा पनि उहाँ पराजित हुनुभएको थियो । उहाँलाई पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले पराजित गरेको हो ।

विगतमा नाजिवकै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफु फेरी राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाउनु भएको थियो ।

आरोपहरू लगाइएपछि बिहीबार उहाँले अदालत बाहिर आयोजित पत्रकार सम्मेलन मार्फत् आफू दोषी नरहेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई विश्वास छ की मैले सफाई पाउनेछु, कानूनको शासन अनुसार कामहरू हुनेछन् ।”

पूर्व प्रधानमन्त्री नजिबले आफू सत्यको पक्षमा लडिरहने र भगवानले सत्यलाई जिताउने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँलाई राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा बुधबार पक्राउ गरिएको थियो ।

नजिब र उहाँका सहकर्मीहरूले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्