जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ ।
जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टर क्षेत्रफलमा रेड, रोयल, रिचारेड तथा गोल्डेर फुजी डेलीसियस जातको स्याउखेती गरिँदै आएको छ ।
वार्षिक पाँच हजार मेट्रिक टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ । जिल्लाबाट अघिल्लो वर्ष करीब रु २५ करोड मूल्य बराबरको स्याउ बिक्री भएको थियो । विगत वर्षमा भदौमै आधाभन्दा बढी स्याउ बजारमा पुगिसक्दथ्यो । यसपालि एक चौथाइ पनि बिक्री हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख बिमल खड्काले बताए ।
राहुघाट, रुप्से, काभ्रे, बादरजुङ र लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काएको छ । त्यहाँ नदीले कटान गर्दा बेनी–जोमसोम सडकमा सवारीसाधन चल्ने सकेका छैनन् ।
स्थानीयवासी, पर्यटक र तिर्थयात्री समस्यामा छन् । सडक खुलाउने प्रयास भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताए । रासस