नोभेम्बरको कुनै चिसो रात । सुस्त-सुस्त सुत्ने तयारीमा थिए, काठमान्डुका गल्लीहरू । मान्छेहरूको ओहोरदोहोर बिलाएको थियो । गाडीहरूको चिच्याहट सेलाएको थियो । आवाजको नाउँमा बस् केही कुकुरहरूको चर्को भुकाइ मात्र हुँदो हो । होइन भने शहर बिल्कुल मरेको आभास हुन्थ्यो । थिएन त्यहाँ कुनै हतास या दौडधुपको धपेडी । न त थियो साँझ बिहान हातमुख जोड्ने कसरत नै । थियो त केवल एक अर्ध-मृत शुन्यता । र म तिनै शुन्य गल्लीहरूको सफरमा थिएँ, सधैं झै त्यो रात पनि ।
किन-किन शहरको नाइट भ्यु हेर्नुमा मलाई निकै रहर लाग्छ । झिलिमिली चम्किरहेको सुपरमार्केट होस् या त बत्ती गएर अध्याँरिएका साँघुरा गल्लीहरू नै । मेरो मन लोभ्याउन बस् यिनै पनि काफी छन् । अझ, कोठा-कोठामा तात्तिरहेका ओछ्यानहरूलाई लुकाउनमा व्यस्त पर्दाहरू, अनि त्यहीँ कहिँ मसिना प्वाल हुँदै सुन्निरहेका लोग्ने-स्वास्नीका कलहहरू । बस् यति भए त सफर यसै चाखलाग्दो भइगो नि । अझ बोनसमा, न त धुलो उड्ला कि भन्ने डर, न त कुनाकाप्चा लुकिलुकी धुवाँ उडाउनु पर्ने कहर । त्यसैले पनि होला सायद, मलाई मर्निङ या इभेनिङ वाकले कहिल्यै आकर्षण गरेनन् । मेरो अल्लारे मस्तिष्कमा सधैं एउटै कुरो गुम्सिरह्यो,”उज्यालोमा त अक्सर बनावटी भेटिन्छ, असलीमा त शहर रातमा देखिन्छ ।”
भित्ते घडीका मोटा सुइहरू सायद त्यो बेला दश या एघारको आसपास तिर हुँदा हुन् । तर चिसो कुइरोले भने बिस्तारै छोपिने क्रममा थिए, राजधानीका झुपडीहरू । अनि तिनै झुपडपट्टी भएर सुस्त-सुस्त छिप्पिदैं थियो, त्यो कामुक रात ।
लिखुरे ट्राउजर । टाइट पाइन्ट । स्पाइडर पन्जा । स्पोर्ट्स जुत्ता । गलामा ऊनीको बाक्लो मफ्लर । अनि, टाउकोमा चमक-धमक रेशमको टोपी । त्यसमाथि ग्वाम्म स्वीटरमा जम्बो ज्याकेटले कोच्चिएर, म पुरै ज्याङगो देखिन्थे । मेरो पहिरन हेरेर धेरैलाई लाग्न सक्थ्यो कि, म काठमान्डु शहरमा होइन सगरमाथाको आधार शिविरमा सयर गर्दै छुँ । तर खुसीको कुरो, त्यो बेला त्यहाँ अरु कोहि थिएन, जो मेरो भेष हेर्दै खिस्सी गर्न सकोस् । यहीँ त हो मित्र, रातको मज्जा ।
म हिडिरहेको सडक धोबिघाट हुँदै पुल्चोक सम्म लमतन्नै पसारिएको थियो । गाडी-मोटर र दुनियाँ थरीले दिनभरी कुल्चेर थाकेको उसको शरीर भर्खरै बिसाएको हुँदो हो सायद । मस्त निद्रामा थियो बिचरा । मैले बेकारमा उसको निद्रा सखाप पार्न चाहिनँ । त्यसैले बरु अलि सुस्तरी नै हिड्ने कोसिस गर्न थालें । फेरि हतार-हतारमा पुग्नु पनि त कहाँ थियो र !
हिड्न थालेको करिब आधाउधी घन्टा जति भएको हुदो हो, मृगौलाबाट थैली हुँदै खुबै च्यापिएर आयो । जाडो महिना, यस्तै त हो । कतिबेला च्याप्छ थाहै नहुने । दिउँसो भए त अलि बित्त्यासै पर्दो हो, तर मेरो साथ, रात थियो । अब रातमा पनि तुर्क्याउनलाई के-को लगन गाँठो । बस् ! फटाफट चेन उघार्यो, तान्यो अनि तुर्र तुर्क्याइदियो, भै त हाल्थ्यो । तर किन-किन त्यो रात मलाई भलाद्मी बन्नै मन लाएन । यसो म पनि त्यो रातको मादकतामा मात्तिदिम् न त भन्ने पक्षमा, म गैसकेको थिएँ । त्यसैले म एउटा यस्तो लोकेसनको तलाशमा थिएँ, जहाँ मेरो अमुल्य युरिक एसिडको उचित सम्मान होस् । भ्यालु होस् । कदर होस् ।
तपाईंलाई मेरो नौटंकीमा हाँसो उठ्न सक्छ तर यसमा मेरो भन्नु केही छैन । किनकी त्यहाँ दोष मेरो होइन, त्यो समयकै थियो । अझ भनौं रातै दोषी हुँदै थियो । अब रातै त्यसरी नशालु भैदिए पछि, के नै पो गर्न सक्थें र म !
केहिबेरको लामो सर्चिङ पछि बल्ल एउटा उपयुक्त ठाउँ जुर्यो, सेन्ट मेरिज कलेजको बडेमानको पर्खाल ।
बाटो चौडा पार्न पहिलेका जति सबै भित्ता भत्काइएकाले नयाँ पर्खालहरू भर्खर-भर्खरै ठड्याइएका रैछन् । अचम्मै सुन्दर थिए नाथे भित्ताहरू पनि । भित्ताको सुन्दरताका खातिर, मैले मन थाम्नै सकिनँ । भित्र-भित्रै झन्झन् च्यापेको जस्तो महसुस हुन थाल्यो । उसैपनी बिहान-बेलुका राम्ररी पानी नचारेर बिचरा सुख्खै भएका रैछन् । त्यसैले मेरो आन्तरिक सिचाइले केही भए पनि मद्दत पुगोस् भन्ने अभिप्रायले फटाफट चेन खोल्न थालिहालें । एकाएक बल्खु हुँदै आइरहेको एक मुठी चिसो बतास खुल्ला चेनबाट शरीर भरी सञ्चार हुन पुग्यो । खुबै मजा आउदै थियो ।
यसैपनी युरिन बिसर्जनमा आनन्दै हुने, झन उसमाथि म त एक छात्रा स्कुलको भित्तामा उन्मुक्त तुर्क्याउदै थिए । अझ त्यो पनि सिसी क्यामेराकै सामुन्ने । किनकी मलाई राम्ररी थाहा थियो, अँध्यारोमा जस्तोसुकै माइकालाल क्यामेराले पनि केही भ्याउनेवाला छैन । त्यसैले पनि म खुबै मुडमा आउदै थिएँ ।
थोरै भए पनि भित्ताहरूलाई सिँचित पार्न सकेकोमा मलाई निकै गौरव थियो । खुशी-खुसीमा पाइन्टको चेन लाउँदै थिए, एक्कासी कतै टाढाबाट मन्द-मन्द साइकलको घण्टी बजेको भान भयो । यताउती हेरें, पुरै अँध्यारो । कहिँ कतै स्पष्ट देखिन्नथ्यो । म अलमलमा परें । को हुन सक्छ यो मध्य रातमा ?
अलि-अलि डर पनि लाग्दै थियो । भन्नलाई भुतप्रेतमा पटक्कै बिश्वास राख्दिनँ भने पनि आफैलाई आइपर्दा अलि गाह्रै हुदो रैछ । फेरि हिजै मात्र एकजना पाका मित्रले खुबै सुरिएर सुनाएका थिए,”सर ! यो जेभिएर र सेन्ट मेरिज बिचको कच्ची बाटो छ नि, त्यहाँ त तपाईंको चैं उहिले-उहिले, डरलाग्दा चुँडेल हुन्थे रे नि त ! उल्टा खुट्टा गरेका चुँडेल मोरीहरू सेता साडीमा निकै राम्रा पो देखिन्थें रे ! मेरै बाजेले त कतिपल्ट केटी भन्ठानेर डेटिङ गर्न भ्याका रे । आम्मा कसम !”
उतिबेला त बुढालाई, नचाहिने कुरो गर्ने भनेर जोडैले हकारियो । तर आफैलाई आइपरे पछि, बुढाले ठिकै भनेछन् कि जस्तो नि लाग्न थाल्यो ।
एकमन त लाग्यो,”कतै सेन्ट मेरिजकै गार्ड त होइन ? ला~~~ !भए त बर्बादै पो हुन्छ हो त । तर होइन होला, यति रातीसम्म गार्ड के बसिरन्छ !”
बरु लाग्यो,”कोहि म जस्तै रातमा हिड्न मन गर्ने पागल पनि त हुन सक्छ । बेकारमा डराएर यार !”
यस्तै बकम्फुसे तर्कनाहरूमा घोत्लिदैं थिएँ म, साइकल अझ केही नजिकै आए झैं लाग्यो । टायर देखियो । ह्यान्डल देखियो । ह्यान्डल समाएर साइकल डोर्याइरहेको एउटा मनुष्य पनि देखियो । बस् ! अब एउटै कुरोले घोच्दै थियो, त्यो मनुष्य स्त्री लिङ्गी थियो या पुरुष लिङ्गी ।
जवाफ स्वयम उसका पुष्ट छातीहरूले नै दिए । अग्ला होचा उसका खोंचहरूमा घोत्लिएर हेर्दै गर्दा, मेरो मन एकाएक चिस्सिएर आयो । कतै ऊ चुडेंल त होइन ?
होइन होला । चुडेंल नि कहिँ साइकल डोर्याउदै आउँछन्, बुद्दु ! म आफुलाई सक्दो सम्हाल्न खोज्दै थिएँ ।
उसका खुट्टा तिर नियाँले । लेडिज कन्भर्स भित्र लुकिरहेका उसका पैताला सुल्टै जस्तो लाग्यो । बल्ल केही ढुक्क महसुस भयो ।
उसलाई नियाल्ने क्रम अझै जारी थियो । किन-किन मेरो नजर ऊ भन्दा अन्यत्र मोडिरहेकै थिएन । पिठ्युँमा भायोलिन पनि बोकेकी रैछे । खुबै सुहाँएको थियो भायोलिन, उसको बलिस्ठ शरीरमा । लाग्यो, केटी त डाइहार्ट म्युजिक लभर पो रैछे त । होइन भने रातबिरात भायोलिन बोकेर को मूर्ख घुम्ला यो शहरमा !
हेर्दाहेर्दै ऊ त मेरो निकै करिब आइसकिछ । यति करिब कि म उसको तातो सास सजिलै महसुस गर्न सक्थें । मलाई अप्ठ्यारो महसुस हुँदै थियो । केटी भनेपछि उसै त डराउने मान्छे, झन यति करिबै आइदिए पछि मेरो के लागोस् । सोचें,”म अब बाच्दिनँ । यो रात मेरो अन्तिम रात रैछ ।”मस्तिष्क रित्तो हुँदै थियो, हृदय चिसो-चिसो ।
तर कस्तो अचम्म ! ऊ भने बिल्कुल सामान्य भावमा थिइ । उसका गाढा कुइरा आँखाहरू सुरुदेखि नै स्थिर भइरहे । बस् घरीघरी छाती फुलेको देखिन्थ्यो, होइन भने ऊ पुरै मौन थिइ । उसको चिर मौनताले मलाई भने बिस्तारै डस्दै ल्याइरहेको थियो ।
केही मिनेटको असहज मौनतालाई चिर्दै, खुबै चिर्रिएर बोली ऊ,”ओइ हेल्लो महाशय ! राती-राती अर्काको स्कुलको पर्खालमा खुबै मच्चीमच्ची तुर्क्याउदै हिड्या छौ त, हँ । के हो पारा, हान्दिम् घुच्चुकमा ?”
मेरो अनुमान भन्दा पनि निकै कडा निक्ली ऊ । सो वाइल्ड अफ हर । हेर्दै पनि म भन्दा अलि मोटै थिइ ऊ, डर लाग्यो, कतै हानी हाल्छे कि ! अलि पछि सरें म ।
मेरो भन्नू उसलाई केहि थिएन । शिकारीको जालमा परेको लाचार सिकार झै भएको थिएँ म । ओठ-मुख सुकेर प्याक प्याक हुँदै थिए । मेरो स्थिति झनझन निरीह बन्दै थियो ।
मेरो लाचार निरीहपनले उसलाई हाँसो उठेछ सायद । एकपल्ट निकै जोड सँग ऊ हाँसी । अनुमानै गर्न गाह्रो पर्ने बेहद सुन्दर रैछ उसको हाँसो । उसको हाँसोले म जेलिएको पासो नै केही फुत्किएझैं भान भयो । जिउँ हल्का हुन पुग्यो । बदलामा म पनि ऊ सँगै हाँसे जस्तो गरिदिएँ ।
केही बेरमै मेरो हाँसो त रोकियो । तर ऊ रोकिइन । अर्कालाई उडाएर कति हाँस्न सकेकी मोरी । एकमन त लाग्यो हान्दिउँ उसको खप्परमै । हाँसोको अन्त्य उसैको रगतले गर्दिउँ । परन्तु यथेष्ट आँट आएन ।
धेरैपछी बल्ल ऊ अलिक कन्ट्रोलमा आइ । मन्द-मन्द हाँस्दै ऊ गुन्जिइ,”तिमी त कस्तो डरपोक, यार । जाबो एउटी केटीले हपार्दैमा पनि कस्तो सातोपुत्लो उडेको हो तिम्रो त ! म त जस्ट जिस्किराँ पो थें त । तिम्ले त कस्तो सिरियस्ली लिएको धत् ! हाहाहा~~~¡”
अजिबकी रैछे ऊ । पहिलो भेटमै सधैं भेटिरहेझैं गरि ऊ मलाई डाइरेक्ट `तिमी´ शब्दद्वारा पुकार्दै थिइ । त्यो पनि कति सजिलै `यार´पनि भनेकी अझ ! ऊ त मलाई हुबहु सकम्बरी झैँ लाग्दै थियो । पारीजातकी सकम्बरी भन्दा कुनै हालतमा पनि ऊ कम थिइन ।
वाइल्ड सकम्बरी फेरि बोल्दै गइ,”ओइ मिस्टर ! रिसायौ कि क्याहो, एउटै बोली फुट्दैन त हँ ! कि तिम्रो जिब्रो छैन र ! कमन ब्वाइ, यो जमानामा रिसाएर केहि फाइदा छैन । यहाँ कोही तिम्लाई रुन्चे अनुहारमा माफी माग्नेवाला छैन, बुझ्यौ मिस्टर ?”
दाहिने आँखा टुइक्क झिम्क्याउँदै, उसले आफ्नो हात म तिर अघि बढाई,”बाइ द वे, म भायोलिना । भायोलिना बज्राचार्य । यहीँ सेन्ट मेरिजमा भर्खरै बि.बि.ए.जोइन गरेकी छुँ । घर यतै धोबिघाट । साइकल र भायोलिन लिएर घुम्न निकै मन पर्छ । स्पेसल्ली यस्तै रातमा । रातमा भायोलिन निकै मीठो सुनिन्छ । त्यै हो । बरु, तिम्रो सुनाऊ !”
एक्कासी म झसङ्ग भएँ । उसको न्यानो स्पर्शमा म त यति सम्म लट्ठ भइसकें रैछुँ कि, उसले हात ताने पछि पो बल्ल होसमा आएँ । उसका शब्दमा भन्दा पनि म त उसको स्पर्शकै जादुमा लट्ठ थिएँ । ती कामुक हत्केलाहरुले क्षणमै मलाई दिवाना बनाइदिएँ ।
केही हडबडमै सुरु गरें मैले,”अ.अ..! म प्रमोद । आर.के. प्रमोद । पुल्चोक क्याम्पसमा पढिराछुँ । कैलेकाँही यसो रातको कामुकतामा डुबुल्की पार्न मन पराउँछु । घर चै पश्चिम तिर हो । सल्यान । दाङ त थाहा छ होला नि, हो त्यतै नजिकै पर्छ ।” बल्ल लामो साँस फेरें । पहाडै फोरे झैं भयो । पहिलो चोटि मलाई महसुस हुँदै थियो, केटीसँग बोल्नु मेरो बशमा रैनछ ।
मेरो कुरामा केही मुस्कुराउँदै उसले थपी,”ए~~~ ! पुल्चोकमा पढ्ने भनेसी त पढन्ते नै रैछौ त ! अनि त्यत्रो पढन्ते मान्छे पनि किन यसरी रातीबिरात भित्ता-भित्तामा ओइर्याउदै हिडेको त, पढ्नु पर्दैन लाटा !”
‘लाटा’ रे ! उसले मेरो खिस्सी गर्दै भनेकी हुँदी हो । तर किनकिन उसको अन्तिम यही शब्दले नै मलाई निकै धन्य तुल्याइदियो । बिस्तारै-बिस्तारै ऊ मलाई प्रिय लाग्न थालेकी थिइ ।
उसको प्रियताको अझै रसपान गर्ने हेतुले म अलि सुर्रिएँ,”अनि तिम्रो पिठ्युँमा सुतिरहेको त्यो सुन्दर भायोलिन सँग नि परिचय गराउनु न त, मिस भायोलिना ?”मेरो मीठो सम्बोधनमा ऊ फिस्स मुस्कुराई ।
“मेरो पिठ्युँ र भायोलिनको सुताइको त खुबै ख्याल गरे छौ त मिस्टर । के हो पारा, तिम्लाई नि सुत्न मन लायो कि क्याहो, भायोलिन सँगै मेरो न्यानो पिठ्युँमा ? हँ हँ, यु नट्टी ब्वाइ !”
ऊ बिल्कुल मुडमा थिइ । सायद उसको मुडमा पनि उहीँ नशालु रात कै दोष हुँदो हो । म भने भर्सक आफ्नो मुडमा कन्ट्रोल गर्न खोजिरहेंथें ।
उसको कुरामा म चुपचाप देखेपछी ऊ फेरि बोली,”ओके, आइ एम रेडी ! हिड्दै जाउँ । कतै यसो दामी म्युजिकल प्लेस फेला पर्यो भने गराइ हाल्छु नि, मेरो प्यारो भायोलिन सँग मेरो इनोसेन्ट मित्रको परिचय, हुन्न र !”
ऊ लगालग मस्का लाउँदै थिइ,”बरु यसो गर न प्लिज, मेरो साइकल चैं तिमी नै डोर्याउनु पर्यो के ल ! तिमी हिडिराँ, मैले डोर्याइराँ, फिटिक्कै सुहाएन के । हेर्दा नि यसो गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड जस्तो देखियोस् न । हो कि होइन भन त !”
म के नै पो भन्न सक्थें र ! उसको लचलताका सामु त म अब केही पनि रहिनँ । आइ वाज जस्ट नथिङ । त्यसैले बरु खुरुखुरु ऊ सँगै हिडिदिएँ उसको साइकल डोर्याउदै, चिसो गहिरो अन्धकारतिर ।
****
पुल्चोक पुग्नै लाग्दा ऊ फेरि गुनगुनाई,”साच्ची प्रमोद ! एउटा कुरा सोधम् ?”
कत्ति न अघि देखि सबै कुरा मेरै अनुमतिमा सुनाइ रहेझैं गर्दै थिइ ऊ । उसको कुरामा मेरो ‘अँ या अहँ’ ले के नै पो फरक पार्थ्यो र !
“सोध । तिम्लाई जे मन लाग्छ सोध । आइ एम अल्वेज रेडी ।”
“लेडिज स्कुलमा पढ्ने केटीहरू त खतरनाक पो हुन्छन् त हो, सुन्या छौ तिम्ले ?”
ङिच्च हास्दै फेरि आफैं बोली ऊ,”तिम्लाई लाग्दैन ? कि यहीँनेर अहिले नै तिम्रो इज्जत लुटिन पनि सक्छ, मिस्टर ! यदि.मैले.चाँहे.भने । सो…अलरेडी यो कुरो माइन्ड मेकअप बनाएर बसे राम्रो ।”
ऊ फेरि एकपल्ट डरलाग्दो गरी हाँसी । उसको भिमकाय हाँसो शहरभरी गुन्जियो । उता, रात भने झन्झन्, झन रोमान्टिक बन्दै थियो । त्यो निशाचर रोमान्सको सिलसिला कहाँ पुगेर टुङ्गीदैछ, यसै अनुमान गर्न निकै गाह्रो हुँदै थियो !!!
( सल्लेरी खबरका लेखक राजन के.सी. ’प्रमोद’ का अरु लेख हेर्नलाई उनको व्यक्तिगत वेबसाइट www.rkpramod.WordPress.com मा पनि हेर्न सकिन्छ | )