काठमाडौं– एसिसी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अफगानिस्तासँग पराजित भएपछि श्रीलंका समूह चरणबाटै बाहिरिएको छ।
सोमबार भएको खेलमा श्रीलंकालाई अफगानिस्तानले ९१ रनले पराजित गर्यो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले हराएको थियो । लगातार दोस्रो खेलमा पराजित भएर श्रीलंका बाहिरिएसँगै १–१ खेल जितेका बंगलादेश र अफगानिस्तान अन्तिम खेल अघि नै सुपर–४ मा पुगेका छन् ।
सोमबार दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा २ सय ४९ रनमा अलआउट भयो । अफगानिस्तानका लागि रहमत साहले ७२ रनको योगदान गरे। उनले ९० बलमा ५ चौका प्रहार गरे। इसानुल्लाहले ४५ रन बटुले भने मोहमद साहजादले ३४ रनको योगदान दिए । बलिङमा श्रीलंकाका थिसारा परेराले ५ विकेट लिए । अकिला धनन्जयले २ विकेट हात पारे ।
२ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.२ ओभरमा १ सय ५८ रनमा अलआउट भयो । उसका लागि उपुल थारांगाले सर्वाधिक ३६ रन जोडे । थिसारा परेराले २८ रन बटुल्दा धनन्यजय डे सिल्भाले २३ रन बनाए । श्रीलंकाको इनिङ ध्वस्त पार्ने क्रममा अफगानिस्तानका ४ बलरले २–२ विकेट लिए । मुजिर उर रहमान, रसिदा खान, गुल्बादिन नइब र मोहमद नाबीले २–२ विकेट लिएका हुन् ।