Logo

चौधरी र डगौरा समुदायको ‘अटवारी’ पर्व शुरु



Spread the love

पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु भएको छ ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास गर्ने चौधरी–डगौरा समुदायले दुई दिनसम्म परम्परागत रूपमा मनाउने गरेका छन् ।

यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व प्रारम्भ हुन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट प्रारम्भ हुने यो पर्वपछि उक्त समुदायले आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् । वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा संस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्दछन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाइ दिनभर व्रत बस्ने प्रचलन छ । व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा मीठो परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन् । पूजाको कामपछि पकाइएका खानाका परिकार व्रतालुले प्रसादको रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहिता आफ्नी छोरी, दिदीबहिनीको घरसम्म पुर्याउने प्रचालन रहेको छ ।

पूजाको काम सकिएपछि छोरी बहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारतको युद्धमा पराजित भइ बनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनवासमा रहेको समयमा देखाएको बहादुरीको खुशीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन् ।

यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास यो समुदायमा गरिन्छ । अटवारी पर्वको अवसरमा प्रदेश सरकारले आज प्रदेश नं ७ मा सार्वजनिक बिदा दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्