विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा बनाउँदै भारतले नेपाल, भुटान र बंगलादेशमा भारतीय कम्पनीले उत्पादन गरेको विद्युत् आयात गर्ने बाटो खुला गरेको छ, तर सम्बन्धित तथा तेस्रो देशका कम्पनीले उत्पादन गरेको बिजुली आयात रोकेको छ । यो व्यवस्थाले नेपालमा भारतीय कम्पनी जिएमआरले उत्पादन गर्ने ९ सय मेगावाटको माथिल्लो कर्णाली र सतलज कम्पनीले उत्पादन गर्ने ९ सय मेगावाटको अरुण तेस्रोजस्ता आयोजनाको बिजुली भारतले निर्वाध रूपमा किन्नेछ । तर चीन, अमेरिका, कोरिया, नर्वेका मात्र होइन नेपालकै निजी कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्ने छैन ।
विदेशी कम्पनीले उत्पादन गर्ने ठुला आयोजनाको विद्युत् नेपाल आफैले खपत गर्न सक्दैन । यसले गर्दा जलविद्युत्मा विदेशी लगानीको सम्भावना लगभग समाप्त भएको छ । भारतबाहेक स्वयम् नेपाली लगानीमा निर्माण भएका आयोजनाबाट उत्पादित बिजुलीसमेत भारतीय बजारमा सिधै बिक्री नहुने भएको छ । भारतले जारी गरेको निर्देशककाले भारतीय बजारमा विद्युत व्यापारका लागि बाटो खोलिदिएको तर बाटो साँघुरो बनाइदिएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता एवं विद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए ।
‘निर्देशिकमा धेरै कुरा अपेक्षा गरेका थियौँ तर घेरा साँघुरो देखियो,’ उनले भने, ‘यसले नेपालमा जलविद्युत आयोजनाको लाइसेन्स लिएर काम गरिरहेका भारतीय कम्पनीहरूलाई भने उत्साहित बनाउने देखिएको छ ।’ नेपाल–भारत सम्झौता विपरीत निर्देशिका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पिटिए) भएको थियो । सम्झौताले दुई मुलुकबीच विद्युत् व्यापार, सीमापार प्रसारण लाइन संयोजन एवं प्रसारण सञ्जाल संयोजनसम्बन्धी मार्गप्रशस्त गरेको थियो । सम्झौताको धारा २ (ख)मा दुई मुलुकले साझा विद्युत् बजारमा सबै आधिकारिक अनुमतिपत्र प्राप्त सहभागीलाई सीमापार प्रसारण लाइन संयोजनमा विभेदरहित पहुँच प्रदान गर्ने सहमति जनाएका छन् । तर, भारतीय निर्देशिकाले विद्युत् व्यापारमा विभेद कायम गरेको छ । यो व्यवहार भुटानसँग पनि गरिएको छ, त्यसै गरी नेपालको जलविद्युत्मा पनि एकाधिकार कायम गर्न निर्देशिका आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।