सल्यान जिल्ला बागचौर नगरपालिकामा भएका छुट्टा छुट्टै दुई घटनाका पीडितलाई घर निर्माण गरिने भएको छ । नेपाल सरकारका पूर्व सामान्य प्रशासन मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य माननीय श्री टेक बहादुर बस्नेतले बागचौर नगरपालिका वडा न ४ सिमखोली सेतिगुराँस र बागचौर नगरपालिकाका वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतकका दुई परिवारलाई घर बनाइदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिवार दुवै ठाउँको राहत वितरण कार्यक्रममा बोल्दै संघिय प्रतिनिधि सभा सदस्य बस्नेतले आफूलाई बागचौर नगरपालिका छुट्टा छुट्टै दुई घट्नाले भावबिहवल गराएको बताएका थिए। दुई घटना घटे लगतै घटनाको बारेमा प्रतिनिधि सभामा आफूले कुरा राखेको र केन्द्रीय सरकारलाई घटनाको बारेमा ध्यानाकर्षण समेत गराएको बस्नेतले बताए । घटना घटी सकेपछि मृतक प्रति श्रद्धाञ्जली अर्पण र परिवारजनमा समवेदना प्रकट गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको उपस्थिति हुनुनै ठुलो कुरा भएको उनको भनाइ थियो । बस्नेतले पीडित परिवारले पाउने राहतलाई व्यवस्थित गर्न र एक द्वार प्रणालीमा लैजानको लागि स्थानीय सरकार सँग समन्वय गरेर कोष खडा गर्न या खाता सञ्चालन गर्न सुझाव दिएका थिए ।
राहत वितरण कार्यक्रम बोल्दै कर्णाली प्रदेश सभा सदस्य गुलावजङ्ग शाहाले बागचौर नगरपालिका वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट मृतक प्रतिव्यक्ति ३० हजारका दरले घटनाका पीडित परिवारलाई ९० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । प्रदेश सभा सदस्य शाहले सबैको एक्यवद्धता भएको यी दुई घटना नेपालमै पहिलो भएको बताए । मानवीय संवेदनालाई ख्यालमा राखी सहयोग गर्ने यो प्रथाले आगामी दिनमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ रहेको थियो ।
यसअघि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बागचौर नगरपालिका वडा नं.४ सिमखोलि सेतिगुराँसका पीडित परिवारलाई मृतक प्रतिव्यक्ति ३० हजारका दरले रु. १ लाख ५० हजार राहत रकम प्रदान गरेका थिए भने जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुखले १ लाख रकम प्रदान गरेका थिए । वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतककालाई जिल्ला प्रशासनले क्रिया खर्च स्वरूप २५ हजारको दरले ७५ हजार उपलब्ध गराएको थियो ।
बनगाड कुपिन्डे नगरपालिकाका नगर प्रमुख श्री गोविन्द पुनले छिमेकी नगरपालिका दु:खद दुईवटा घटना घट्नुले आफूहरूलाई समेत पीडा परेको भन्दै मृतकका दुवै परिवारलाई २५ हजारका दरले ५० हजार नगद राहतको घोषणा गरेका थिए ।
सिद्धकुमाख गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रतिनिधि वडा नं. १ का वडा अध्यक्ष राम बहादुर बस्नेतले मृतक दुई परिवारलाई आफ्नो गाउँपालिकाको तर्फबाट रु. ४० हजार राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसै गरी दुवै घटनाका पीडित परिवारलाई राहत स्वरूप दार्मा गाउँपालिकाबाट रु. ५०,०००/-
शारदा नगरपालिकाबाट ३० हजार , छत्रेश्वरी गाउँपालिकाबाट ५० हजार , कालिमाटी गाउँपालिकाबाट ३५ हजार, कुमाख गाउँपालिकाबाट ५० हजार त्रिवेणी गाउँपालिकाबाट ३० हजार , कपुरकोट गाउँपालिकाबाट २५ हजार , सल्यानी युवा संजालबाट ५० हजार, सल्यान जेसिसबाट रु. २६ हजार ३ सय ५५, सल्यान सरोकार समाजबाट १५ हजार प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको छ। अहिलेसम्म जम्मा ९ लाख ७६ हजार ३५५ रकम प्रदान गर्ने नगद रकम सहित प्रतिबद्धता प्राप्त भएको छ।
नेपाल रेडक्रस सोसाइटी सल्यानको तर्फबाट दुवै घटनाका पीडित परिवारलाई विभिन्न जिन्सी सामान तथा भाँडाबर्तन हस्तान्तरण गरिएको छ ।
यता राहत वितरण कार्यक्रममा बोल्दै बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले दु:खद घटनामा साथ सहयोग गर्ने केन्द्रीय सरकार, प्रदेश सरकार र सल्यान जिल्लाका दश वटै स्थानीय सरकारहरूलाई धन्यवाद दिएका थिए । मानवीय सभ्यतालाई ख्यालमा राख्दै दुखद घटनाका पीडितलाई मलम लगाउने नयाँ संस्कार बसालेको भन्दै यो संस्कारलाई सल्यान जिल्ला लगायत अन्य ठाउँमा घट्ने घटनामा पनि बसाल्न जरुरत रहेको बताएका थिए । नगर प्रमुख बुढाथोकीले पहिलो चरणमा दुईवटा घटनाका मृतक आठ जनालाई प्रतिव्यक्ति क्रिया खर्च बापत २५ हजारका दरले २ लाख नगद हस्तान्तरण गरेका थिए । उनीले तत्काल पीडित परिवारका लागि दीर्घकालीन तथा अल्पकालीन कार्यक्रमको समेत तय गर्ने जानकारी दिएका छन् । नगर प्रमुख बुढाथोकीले नगरभित्र विभिन्न कारणले अभिभावक गुमाएका अनाथ बालबालिकाहरूको प्रारम्भिक तथ्यांक संकलनको काम भइरहेको र बागचौर नगरपालिकाले आफ्नै लगानीमा एक अनाथ आश्रम स्थापना गरी उनीहरूको शिक्षा, स्वास्थ्य, पालन पोषणको समेत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पीडितले आफ्नो अभिभावकको भूमिकामा स्थानीय सरकार, प्रदेश सरकार, प्रतिनिधि र संघीय प्रतिनिधि सभाका प्रतिनिधि घटना स्थलमै आएको देख्दा आफूलाई समेत राहत महसुस भएको बताएका थिए ।