Logo

सल्यानको सामान्य परिचय



Spread the love


महाभारत पर्वत श्रृंखलाको मध्य भागमा अवस्थित सल्यान प्राकृतिक सम्पदा, ऐतिहासिक पृष्ठभूमि, धार्मिक पर्यटकीय स्थल, विविध सामाजिक, साॅस्कृतिक पहिचान सहितको जनसमुदाय, तराई र हिमाली प्रदेशलाई जोड्ने सेतुको रूपमा विद्यमान, सुन्दरतम् पहाडी जिल्ला हो । यो बाईसे-चौवीसे राज्यभित्रका प्रमुख चार गौंडामध्यको एक प्रशासनिक गौंडा हो ।

गुणस्तरीय रेशारहित अदुवा, सुन्तला जात फलफुल, बेमौसमी तरकारी, आलु, दुग्धजन्य पदार्थ, सबै प्रकारका नगदेबाली, खसी-बाख्रा, मकै, कोदो, लिसा, जडीबुटी, सल्यानी खुकुरी यहाॅ उत्पादन हुने प्रमुख वस्तुहरु हुन् । कुपिण्डे दह, कुमाख-पाथीभरा-खर्सुवास क्षेत्र, निगालचुला, खैराबाङ मन्दिर, छायाक्षेत्रको मन्दिर, कालीमाटी मन्दिर, लक्ष्मीपुर शक्तिपीठ, मोख्लाको शिवगुफा र राॅगोले हानेको ढुङ्गा, फलावाङ दरबार क्षेत्रको भग्नावशेष र पुतली दरबार, बडागाउॅ नाउला दरबार, वामेको घना जङ्गल, कालिमाटी क्षेत्रको घनाजंगल, शारदा-ववइ फाॅट, कालागाउॅ कोर्ती घाटाचौरदेखि माझकाॅडा बालुवा सङ्ग्रहसम्मका भेरी किनारका अदभूत दृश्यहरू, मर्मज्युला, दार्मज्युला, बनगाडवेंशी, गरिज्युला आदि यहाॅका महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलहरु हुन् । कुमाख, मोख्ला, टाट्के, हिवल्चा खैरावाङ, कालीमाटी, कुपिण्डेदह, देवस्थल, कोटमौला, छायाक्षेत्र, दार्मकोट, बडागाउॅ, फारुला, बादने, लक्ष्मीपुर आदि प्रमुख मेला-जात्रा लाग्ने स्थलहरु हुन् । त्यस्तै गाईजात्रा, लाखे जात्रा, कृष्णाष्टमीको जात्रा, दसैं, तिहार, कुलपूजा, आदि चाडपर्वहरु र झ्याउरे, सोरठी, सिंगारु, सेरङे(मयुरनाच), टप्पा, पैसेरी आदि स्थानीय नृत्यहरु यहाॅका मुख्य साॅस्कृतिक पहिचान हुन्। जडिबुटी, पशुपंक्षी, तालतलैया, बस्ती फाॅट, झरना, खोला, जङ्गल आदिले भरिएको यस जिल्लाको प्रमुख नदी शारदा हो र सिमाना छोएर बग्ने भेरी र बबइ नदी पनि मुख्य नदीहरु हुन्।
चुनढुंगा, खानीढुंगा, कोइला, स्लेट, विभिन्न नदी र खोलाको जलश्रोत, दुई तिहाइ भू-भाग क्षेत्रफल ओगटेको वनजंगल आदि यहाॅका खनिजजन्य र वनस्पतिजन्य सम्पदा हुन्।

०६८ को जनगणना अनुसार दुई लाख सत्चालीस हजार चार सय चवालीस ( २,४७,४४४ ) जनसङ्ख्या भएको यस जिल्लाको जिल्ला सदरमुकाम मध्य भागमा अवस्थित खलंगा हो। दुई निर्वाचन क्षेत्र, एघार इलाका,दुई नगरपालिका र पैँतिस गाविसमा विभाजित सल्यान जिल्ला, देश नयाँ संरचना(प्रदेश)मा गएपछि स्थानीय तहको संख्या १० रहेको छ । त्यसैगरी दुई प्रदेश क्षेत्र निर्धारण गरिएको छ भने एक संघीय क्षेत्र रहेको छ । दक्षिणमा दाङ र बाॅके, पूर्वमा रोल्पा, उत्तरमा जाजरकोट र रुकुम तथा पश्चिममा सुर्खेत र वर्दिया जिल्ला पर्दछन्। यहाॅ क्षेत्री, बाहुन, मगर, नेवार, कामी, दमाई, सन्यासी, राई, गुरुङ, कुमाल, सार्की, वादी, गाइन आदि जातिको मुख्य बसोबास रहेको छ। घुमन्ते रूपमा राउटेहरु पनि बस्ने गर्दछन् । परम्परागत कृषि र पशुपालन, वैदेशिक रोजगार, नोकरी, व्यापार, केही मात्रामा व्यावसायिक तरकारी, फलफुल, पशुपालन, उद्योगधन्दा, पूर्ख्यौली पेसा (आरन, छालाजुत्ता, मादल, खुकुरी आदि उद्योग), ज्याला, मजदुरी आदि यहाॅका जनसमुदायका मुख्य पेसा व्यवसायहरु हुन्। यस जिल्लाको सदरमुकाम खलंगा, सल्लीबजार, श्रीनगर, थारमारे, कपूरकोट, कालीमाटी, बांगेलाॅखुरी, कालाखेत, ढोरचौर, नाथेखोला, लान्ती, रामबजार, खरिबोट, लुहाम, मोख्ला, स्यानीपिप्ली, फारुला आदि यहाॅका मुख्य व्यापारिक, प्रशासनिक एवं शैक्षिक केन्द्रहरु हुन्।दाङ-रुकुम जोड्ने राप्ती राजमार्गको मध्यखण्ड (कालोपत्रे सडक), दाङ-सल्यान कालीमाटी हुॅदै सुर्खेत जोड्ने ग्राभेल सडक, सल्यान खलंगाबाट कुपिण्डेदह वालुवासंग्रही हुॅदै सुर्खेत जोड्ने ग्राभेल सडक, थारमारे बडागाउॅ हुॅदै रुकुम चौरजहारी जोड्ने ग्राभेल सडक, सल्ली बजारबाट स्वीकोट नेटा हुॅदै रुकुम चौरजहारी जोड्ने ग्राभेल सडक यहाॅका मुख्य सडकहरु हुन् ।

कुल क्षेत्रफल एक लाख पन्चानब्बे हजार एक सय अठहत्तर (१,९५,१७८) हेक्टर (१,९५१ वर्ग कि मी),२८ डिग्री ३१ मिनेटदेखि २८ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री ० मिनेटदेखि ८२ डिग्री ४६ मिनेट पूर्वी देशान्तर रहेको यस जिल्लाको भौगोलिक अवस्था नदी निर्मित भू-भाग, सिवालिक क्षेत्र, मध्य पहाडी भू-भाग हो । यसमा देशको कुल भू-भागको १.३३% भू-भाग पर्दछ। औसत वार्षिक वर्षा १,१०० मिलिमिटर हुने यस जिल्लाको जलवायु समशितोष्ण एवं शितोष्ण किसिमको छ । यहाँको तापक्रम हिउॅदमा ३ डिग्री सेल्सीयसदेखि २८ डिग्री सेल्सीयस तथा ग्रीष्ममा १४ डिग्री सेल्सीयसदेखि ३५ डिग्री सेल्सीयससम्म हुने गर्दछ । औसत उचाई १,५०० मि रहेको यस जिल्लाको सबभन्दा अग्लो ठाउॅ खर्सुवास लेक(२८२७ मिटर ) र कम उचाइ बबइ नदी किनार, काप्रेचौर(३२६ मिटर) रहेको छ । यसैगरी सदरमुकाम खलंगा १,५३६ मिटरको उचाइमा रहेको छ । यहाॅका प्राय समुदाय नेपाली भाषी छन् र हिन्दु, क्रिष्चियन, इस्लाम र बौद्ध धर्मावलम्वी रहेको यस जिल्लाको जम्मा घरधूरी सङ्ख्या ४६,५५६ रहेको छ । यहाँको जनसंख्या वृद्धिदर १.६ प्रति वर्ष र जनघनत्व १२५ प्रति वर्ग कि.मि. रहेको छ ।

(तथ्यान्क श्रोत: जिविस, सल्यान)

प्रतिक्रिया दिनुहोस्