चर्चित हाँस्यकलाकार जितु नेपाल प्रबल जनसेवा श्री सम्मानबाट सम्मानित भएका छन् । जितु नेपाललाई मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो सम्मान प्रदान गरिएको थियो । राष्ट्रको गौरव एवं नेपाली जनताको हितका अभिवृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै उनी विभूषित भएका हुन् । गणतन्त्र दिवसको अवसरमा गत वर्ष राष्ट्रपतिबाट मानपदवीहरूको घोषणा गरिएको थियो ।
‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईबाट भएको उल्लेखनीय योगदानको सम्मान स्वरूप प्रबल जनसेवा श्री द्वारा विभूषित गरिएको छ’, प्रधानमन्त्री के.पी. शर्मा ओली र विभूषण समितिका अध्यक्ष ईश्वर पोखरेलद्वारा हस्ताक्षरित सम्मान पत्रमा उल्लेख छ ।
पछिल्लो समयका व्यस्त कलाकारमा जितुको नाम अगाडी आउँछ । नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रृखंला जिरे खुर्सानीबाट मुन्द्रेको रूपमा चर्चा कमाएका जितु हाल चलचित्रमा व्यस्त छन् । उनी सफल सिरिज ‘छक्का पन्जा’का कलाकार र निर्माता हुन् । उनी अभिनीत नयाँ चलचित्र ‘रामकहानी’ यही शुक्रवारबाट प्रदर्शन हुदैँछ ।