सल्यानका अधिकांश विद्यालयका विद्यार्थीहरू खुला स्थानमा शौच गर्न बाध्य भएका छन् ।
विद्यालयमा रहेका शौचालयको सरसफाइ, पानीको व्यवस्था नहुँदा निमार्ण भएका शौचालय पनि प्रयोगमा नआउदा विद्यार्थीहरू खुला स्थानमा शौच गर्न बाध्य भएका हुन् ।
पानीको अभाव देखाउदै विद्यालय प्रशासनले आफुहरुले प्रयोग गर्ने शौचालय बाहेक अन्य शौचालयमा ताला लगाएको श्री कृष्ण माध्यमिक विद्यालय संग्रहीमा कक्षा १० मा अध्ययनरत छात्र श्रीस विकले बताउनु भयो । खुला शौचका लागि बाहिर जाँदा केटा विद्यार्थी भन्दा केटीले बढी असुरक्षित महसुस गर्ने गरेको उनले बताए । उनले भने “विद्यालय प्रशासनले शिक्षकहरूले प्रयोग गर्ने शौचालयमा मात्र सरसफाई गर्न लगाउने र पानी राख्ने गरेको र अन्य शौचालयहरुमा पानीको अभाव देखाएर ताला लगाइएको छ ।”
विद्यालय वरिपरि झारपात रहेकोले कहि कतै सर्प टोक्ला भन्ने डर लाग्ने गरेको हुँदा पनि बाध्यताले बाहिर शौचका लागि जानु परेको उनको भनाइ छ । बाहिर जाँदा खेतबारीमा काम गर्ने मान्छेहरू हुँदा लाज हुने गरेको भन्दै फर्केर आउँदा झनै समस्या हुने गरेको उनले बताए ।
प्रभाकर मा बि देवस्थल, जनता आधारभूत देवस्थल बस्नेउरा, कृष्ण मा बि घाजरीपीपल सग्रही, जनता आधारभूत मुलखोला डोप्के, निम्मा बि बामे ५ घर्तिगाउ सरस्वती आधारभूत बामे फुर्केसल्ली लगायतका अधिकांश विद्यालयहरूमा निमार्ण भएका शौचालय प्रयोग विहिन अवस्थामा रहेका छन् ।
सल्यान जिल्लालाई गत असार १७ गते देशकै ३७ औँ खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो । जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिए पनि त्यसको नियमित अनुगमन तथा निरिक्षणको अभाव देखिएको छ । सरकारी निकायका कार्यालयहरुका शौचालय प्रयोग विहिन बनेपछि खुला दिशामुक्त क्षेत्र घोषणामा नै प्रश्न उठन थालेको छ ।