कञ्चनपुरकी निर्मला पन्त हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । ती दुई दिदी बहिनीलाई शनिबार विहान प्रहरीले भीमदत्त नगरपालिका १८ स्थित उनीहरुकै घरबाट पक्राउ गरेको हो ।
१३ वर्षीया बालिका निर्मला उनीहरुको घरमा गृहकार्य गर्न गएकी बेला बेपत्ता बनेकी थिइन् । पक्राउ परेकी रोशनी निर्मलाकी साथी हुन् ।
ती दिदी बहिनीलाई पक्राउ गरेर सोधखोज गरे घटनाको वास्तविकता पत्ता लाग्न सक्ने स्थानीय वासिन्दाको माग थियो । यद्यपि, प्रहरीले उनीहरुलाई पक्राउ गरेको थिएन । प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा भने लिएको थिएन ।
बबिता र रोशनीको शंकास्पद व्यवहार, तत्कालीन एसपी र मेयरका भतिजासँगको सम्बन्ध, उनीहरुका भनाइ र ठाडो बोलीका कारण उनीहरुलाई पक्राउ गर्न स्थानीय वासिन्दाले झकझक्याउँदै आएका थिए । तर प्रहरीले भने कानमा तेल हालेर बसेको थियो । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरिएसँगै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
ती दुई दिदी बहिनी मात्रै बस्दै आएको सो घरमा तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा र नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा प्रायःजसो गइरहने गर्थे ।