Logo

लमहीका बाढी पीडितहरुलाई लमही नगरपालिकाले बनाइदियाे पक्की घर



Spread the love

दाङको लमही नगरपालिका–९ अमेलियाका बाढीपीडितलाई लमही नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको छ । २०७४ साउन २७ गतेको बाढीले लमही–९ अमेलियाका २२ घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्किएपछि स्थानीय तहले बाढीपीडित बस्तीको पुनर्निर्माण अभियान सञ्चालन गरेका थियो ।

एक वर्षपछि नयाँघर पाउँदा अमेलियाका बाढीपीडितहरु खुसी भएका छन् । बाढीको कारण घरविहिन बनेकी पुनकला भुसाल घरधनीका रुपमा नयाँघरमा पुनस्र्थापित हुनुभएको छ । लमही–९ मैनेका मोहन डाँगीले स्थानीय तहको सहयोगमा नयाँघरमा बस्न पाएकोमा खुसी हुनुभयो ।

‘स्थानीय सरकारले हामीलाई सहयोग गरेको छ । पीडामा मलम बनेको छ । खुसी छांै । काठका लागि सहयोग भए राम्रो हुने थियो’, डाँगीले भन्नुभयो । लमही नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि पुनकला र मोहनसहित २२ घर परिवार पुनस्र्थापित भएका हुन् ।

‘बाढी घरभित्रै पस्दा मुस्किलले बाँचेका थियौं । यसपालीको वर्षामा ढुक्कसँग बस्न पाइएको छ’, पुनकलाले भन्नुभयो । लमही नगरपालिकाले पूर्णक्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माणका लागि २ लाख सहयोग गरेको थियोे । नगरपालिकाको सहयोग र स्थानीयको सकृयतामा भान्छा र सौचालयसहितको नयाँघर निर्माण गरिएको हो ।

बाढीपीडितलाई स्थानीय सरकारको अनुभूति हुनेगरी राष्ट्रिय वनको खाली जमिनमा बसोबासको व्यवस्था गरिएको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयोे । आवश्यक काठ व्यवस्था गर्न सामुदायिक वनलाई अनुरोध गर्ने र बाढीपीडितका लागि सबै सुविधासहितको पक्की घर निर्माण गरिने केसीले बताउनुभयो । लमही–९ का मैनेमा ४, तेल्लेमा ३, रिहारमा ६, हात्तीखाल, अमेलिया र वाङ्गेतालमा ९ वटा पक्की घर निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्