सम्पूर्ण मिथिला क्षेत्रमा अहिले दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मीठो धुन गुञ्जिरहेको छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन बेच्न राखिएका छन् । दिदीबहिनीहरु आफ्ना दाजुभाइको खोजीनिती गरिरहेका छन् । विवाह भएर गएका चेलीहरु मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइ कहाँ छन् भन्ने पत्ता लगाएर राखी बाँध्न आउने निम्ता दिन व्यस्त छन् ।
त्यसैगरी अविवाहित चेली पनि कामविशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिनमा तल्लीन छन् ।
दाजुभाइप्रति देखाइने प्रेम र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न बर्दिवासबजार पुगेकी बर्दिवास–३ गौरीडाँडाकी पूनम महतो बताउँछिन् ।
आउने आइतबारका दिन मनाइने यस पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिदो छ ।
मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् साँस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । बजारहाटमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी (मिथिलाका नारी) हरुको चहलपहल ह्वात्तै बढेको बर्दिवासस्थित जनता बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीले बताए । महोत्तरीसहितका मिथिलाक्षेत्रका चलचित्रघरले पर्वविशेषमा रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत लगातार गुञ्जाइरहेका छन् । सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले बटुवालाई समेत द्रवित बनाउने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका नेपाली साहित्यका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।
चेलीहरुले अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् । यसैगरी दाजुभाइ पनि दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिनपहिले देखि नै आआफ्नो कामबाट फुर्सत मिलाउन लागेको देखिन्छ । घरबाट कामविशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेको भनी गरिएको टेलिफोन संवादले चेलीहरु खुशीले दङ्ग देखिन्छन् । ‘‘भैया पञ्जाव स राखी पावैन के लेल ऐवाक् निश्चित भेल’’ (दाजु, राखी पर्वका लागि पञ्जाबबाट आउने निश्चित भयो), भङ्गाहा नगरपालिका–४ की १७ वर्षीया रामसखी मण्डलले खुशी व्यक्त गर्दै भनिन्, ‘‘आब राखी के जोगार मे लगैछि’’ (अब राम्रो राखी किन्ने छु) ।
पर्वविशेषमा दाजुभाइ, दिदीबहिनीका लागि राखीको कारोवार गर्ने व्यापारी उत्तिकै व्यस्त देखिन्छन् । ग्राहकको रोजाइमा परेका राखीको डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीको भनाइ छ । पर्वका लागि अब केही दिन मात्र बाँकी रहँदा रक्षाबन्धनका बिभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फूर्सत नभएको सीतापुरबजारमा राखी बिक्री गर्दै आएका रामप्रताप साहले बताए ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । पर्वविशेषमा यसअघि केही मनोमालिन्य रहेपनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नाले चेली र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको सरकारी सेवाबाट अवकाश लिएका जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका ८३ वर्षीय कृष्णचन्द्र झा बताउँछन् ।
पर्वविशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजीकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो साँस्कृतिक पर्वको महत्ता झनै उजेलिएको मिथिलाबासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने चलन पनि बाक्लै देखिन्छ ।
पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण चाहिँ दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी साँस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीमा पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधीदिन पर्वको तयारीमा लागिपरेका देखिन्छन् ।
पछिल्ला दिनमा यो पर्व हिन्दू धर्मावलम्बीको मानिँदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने व्यापक प्रचलन बढ्दै गएको जलेश्वर–१ स्थित दारुल उलुम कादरिया रसिदिया मदर्सा (ऊर्दू भाषाको माध्यमिक तहको विद्यालय) का प्रधानाचार्य (हेड मदरिस) अशरफ रजाको ठम्याइ छ । (रासस)
प्रतिक्रिया दिनुहोस्