सरकारले मदन भण्डारी राजमार्ग अन्तर्गतका मुख्य खण्डहरुको कालोपत्रे यसैवर्ष देखी सुरु गर्ने भएको छ । सरकारले यसैवर्ष घोषणा गरेको यो राजमार्गका विभिन्न खण्डहरु निर्माणाधीन अवस्थामा छन ।
झापाको पाटापुरबाट सुरु हुने यो राजमार्गको मध्य खण्डमा यस वर्ष कालोपत्रे सुरु गर्ने योजनामा सरकार छ । चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने गरी नयाँ राजमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोड्नेछ । यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई समेट्छ ।
यो राजमार्ग झापाको पाटापुरबाट सुरु हुनेछ र सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ ।
त्यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।
यसमध्ये यो वर्ष धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा खण्डमा कालोपत्रे सुरु गरिने सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । यो खण्ड यस अघिदेखि नै छुट्टै आयोजनाका रुपमा विभागले निर्माण गरिरहेको थियो । प्रवक्ता गौतमले दाङबाट सुर्खेतसम्मको खण्डको पनि कालोपत्रे छिटै सम्पन्न गरिने बताए ।
यो वर्ष मदनभण्डारी राजमार्गका लागि साढे ४ अर्ब बजेट छुटि्टएको छ । यसैबाट राजमार्गका विभिन्न खण्डहरुको विस्तृत आयोजना प्रतिवेदन -डीपीआर) तयार पार्ने काम पनि सुरु हुने गौतमले बताए ।
झण्डै १२ सय किलोमिटरको यो राजमार्ग दुई लेनमा बनाइने छ । धरान-चतरा-गाईघाट-सिन्धुलीमाडी-हेटौंडा सडकखण्ड निर्माणको काम यसवर्ष आधा सकिने गौतमले बताए ।
३०० किमीको यो खण्ड निर्माण सकिन लागे पनि राजमार्गमा जोडिने अन्य खण्डको भने सम्भाब्यता अध्ययन भएर विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) बनेको छैन ।
पूर्वतर्फ झापाको पाटापुरदेखि धरान खण्डको डीपीआर तयार गर्नुपर्नेछ । हेटौंडादेखि गैंडाकोटसम्म पूर्व-पश्चिम राजमार्ग प्रयोग गरिनेछ । गैंडाकोटबाट पाल्पाको रामपुर हुँदै गुल्मी पुग्नेछ । यो सडक कालोपत्रे हुँदैछ ।
पाल्पाको राम्दीबाट गुल्मी हुँदै प्युठानसम्म डीपीआर बनाउनुपर्नेछ । आवश्यक खण्डहरुमा डीपीआर बनाउन यसै वर्षबाट काम सुरु हुने गौतमले बताए ।
मदन भण्डारी राजमार्गका विभिन्न खण्डमा अहिले पनि गाडी चलिरहेका छन् । उक्त खण्डहरुलाई राजमार्गका रुपमा दुई लेनमा विस्तार गर्दै जोड्दै लैजानुपर्ने हुन्छ ।
दाङबाट सुर्खेतको बोटेचौरसम्म अहिले कालोपत्रे भइरहेको छ । बोटेचौरदेखि डडेलधुरा सम्मको सडकको काम भने केही चुनौतीपूर्ण छ । केही खण्डमा नयाँ ट्रयाक नै खोल्नुपर्नेछ ।