सम्पत्ति शुद्धिकरणका बहस चलिरहेका ठुला नोट प्रतिबन्ध गर्नुपर्ने सुझाव आउन थालेका छन । नेकपाका सांसद महेश बस्नेतले अर्थ समितिको बैठकमा बोल्दै यस्तो सुझाव दिएका हुन । सांसद बस्नेतले ठुला नोटको प्रतिबन्ध लगाउने वित्तिकै आफै सम्पत्ति शुद्धिकरण निवारण हुने बताए ।
सम्पत्ति शुद्धिकरण ठुलो समस्याको रुपमा देखिएको भन्दै त्यसलाई त्यसको निवारणको लागि पनि ठुला नोटको प्रतिबन्ध गरेर नयाँ नोट प्रचलनमा ल्याउनुपर्ने तर्क गरे । छिमेकी भारतले निश्चित समयका लागि नोट प्रतिबन्ध गरेजस्तै नेपालले पनि त्यस्तै गर्नुपर्ने धारणा उनले राखे ।
अर्थ समितिमा उपस्थित अधिकांश सांसदले राष्ट्र बैंकसँग बैंक तथा वित्तिय संस्थाको लगानीको अवस्था, तरलताको अवस्था लगायतबारे जानकारी मागे । यता पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ब्याजदर बढ्दा व्यवसायमा समस्या आएको भन्दै ब्याजदर घटाउनतर्फ ध्यान केन्द्रित गर्न राष्ट्र बैंकलाई सुझाव समेत दिए ।
त्यस्तै उनले गर्भनरसँग सुनचाँदीको हालको अवस्थाबारे प्रश्न पनि गरे । नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले २८ अर्ब रुपैयाँ बराबरको सुन चाँदी रहेको पनि जानकारी गराए ।