बागचौरबाट करिब २० किलोमिटरको दुरिमा रहेको बा.न.पा ६ कोटबाराको बाङतिरे जामुनेचौरमा गत बिहीबार पहिलो पटक सल्यान रुकुम यातायात ब्यवसायी समितिको रा १ ज ५२६ नम्बरको जीप पुग्दा त्यहाका स्थानीय बासीहरुमा खुसीयाली छाएको छ ।
यातायात क्षेत्रलाई मर्यादित एवं यात्रुमुखी बनाउने उदेश्यले पहिलो पटक जिल्लाको बागचौर नगरपालिकामा शाखा कार्यालय स्थापना गरेको सल्यान रुकुम यातायात व्यवसायी समितिले उक्त क्षेत्रका स्थानीय आन्तरिक रुटहरुमा गाडी सञ्चालन गर्ने निर्णय गरे लगत्तै कोटबाराको बाङ्गतिरे जामुनेचौरमा पहिलो पटक गाडी पुगेको समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिए।
गाडी गाउँमा पुगेपछि सल्यान रुकुम यातायात व्यवसायी समितिका कार्यसमिति सदस्य तोकलाल शर्माको प्रमुख आतिथ्य, वाइसीएल सल्यानका अध्यक्ष सोभाराम भण्डारी, समितिका बागचौर शाखा कार्यालय प्रमुख चित्र बहादुर राणाको आतिथ्यमा उद्घाटन कार्यक्रम समेत गरिएको थियो ।
धेरै वर्षको पर्खाइ पछि आफ्नो घर आगन बाटै गाडी चढ्ने अवसर मिलाइदिएको भन्दै सोही गाउँ निवासी ९० वर्षिया विक्रम वलीले सल्यान रुकुम यातायात ब्यवासायी समितिलाई धन्यवाद दिएका थिए । वलीले मुस्कुराउदै समय परिवर्तनशील छ, हाम्रा दिन दु:खमा गएपनि पछिल्लो पिढिका दिन सुखमय बन्ने भय भन्दै समितिलाई नियमित गाडी सञ्चालन गर्न समेत आग्रह गरेका थिय । स्थानीय बासिहरुले अबिर फुलमालाले गाडीलाई स्वागत गरेको कार्यक्रमका सञ्चालक लोक राज वलीले बताएका छन् ।
यस्तै बिहिबार नै बागचौरबाट करिब २८ किलोमीटरको दुरिमा रहेको कालागाउको नेटाबजार सम्म पनि गाडी सञ्चालन गरिएको थियो ।
लगत्तै अन्य रुटहरुमा गाडी सञ्चालन गर्ने तीव्र तयारी भइरहेको र नियमित गाडी सञ्चालन गर्नको लागि सडकको स्तर राम्रो हुनुपर्ने भएकाले नयाँ सडक निर्माण गर्दा र पुरानो सडकलाई मर्मत गर्दा सम्बधित निकायले धेरै कुरामा ध्यान दिनुपर्ने समितिका अध्यक्ष बुढाथोकीले अनुरोध गरेका छन् । सल्यान जिल्लाभर निर्माण गरिएका प्राय सडक हरू साघुरो र बढी ठाडो भएको जनगुणासो आउनेगरेको छ ।