Logo

को हुँदैछ नेकपा सल्यानको अध्यक्ष ?



Spread the love
  • तिलकराज ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यान जिल्ला कमिटी समायोजन गर्न नेकपा केन्द्रीय कमिटीले तोकेको निर्धारित समयसीमाको अन्तिम तिर जिल्लाको अध्यक्षका लागि केन्द्रमा चार जना नेताको नाम सिफारिस भएको उच्च स्रोतको दाबी छ ।

सल्यान जिल्लामा अध्यक्ष तत्कालीन एमाले वा माओवादी कसको भागमा पर्ने भन्ने अझै पनि निश्चित नभएकोले तत्कालीन एमाले र माओवादी केन्द्रका थुप्रै नेताहरू अध्यक्ष पदको दौडमा अघि सरेका थिए । स्रोतले जनाए अनुसार नेता पूर्व एमालेबाट उदय बोहरा र लोकबहादुर डाँगी । विकल्पमा हरि केसी गरी तीन जनाको नाम सिफारिस भएको छ । यता तत्कालीन माओवादी केन्द्रबाट नेकपाको जिल्ला अध्यक्षका लागि नेबबहादुर कुँवर(विवेक) र कर्णबहादुर बुढाथोकी (छहारी) लाई पहिलो प्राथमिकतामा पारेर केन्द्रमा सिफारिस गरेको स्रोतको दाबी छ । माओवादी केन्द्रले यी दुवैको विकल्पका रूपमा कृतिबहादुर पुन(प्रकाण्डसिंह)सहित अन्य केही नेतालाई पनि राखेर सिफारिस गरेको जनाइएको छ । अध्यक्ष पदमा रस्काकस्की भएपनि सचिव पदमा खासै त्यस्तो नभएको विभिन्न नेताको दाबी रहेको छ ।

यी हुन् जिल्ला अध्यक्षका बलिया चार दाबेदार

१. नेबबहादुर कुँवर (विवेक)


नेबबहादुर कुँवर (विवेक) तत्कालीन माओवादीमा लामो समय सक्रिय राजनीतिमा लागेका तर खास अवसर नपाएका नेता हुन् । पूर्व जनमुक्ती सेनाको सहायक डिभिजन कमाण्डरको भूमिका निभाउँदै पछिल्लो समय माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज समेत भएकोले यसपटक नेकपा सल्यानको अध्यक्षमा उनी नै हुने सम्भावना अधिक रहेको धेरैको विश्लेषण छ । तर कुँवरलाई तत्कालीन माओवादी केन्द्रको बागी समूहले खुलेर समर्थन नगरेको कारण उनी अध्यक्ष हुन नसक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

 

 

२. उदय बोहरा


उदय बोहरा तत्कालीन एमाले सल्यानका लोकप्रिय नेताका रूपमा चिनिन्छन् । उनी सल्यानका पूर्व जिविस सभावति पनि भैसकेका नेता हुन् । उनी विरुद्ध पार्टीमा पनि खासै विरोध नहुने हुँदा यदि यसपटक नेकपाको अध्यक्ष तत्कालीन एमालेको भागमा परेमा यिनै बोहराको पहिलो सम्भावना रहेको छ ।

 

 

३. कर्णबहादुर बुढाथोकी (छहारी)

कर्णबहादुर बुढाथोकी (छहारी) तत्कालीन नेकपा माओवादी केन्द्रको जिल्ला अध्यक्ष र संयोजक समेतको जिम्मेवारी पुरा गरिसकेका सल्यानको पश्चिमी क्षेत्रका नेकपाका पुराना नेता हुन् । उनी बनगाड कुपिण्डे नगरपालिकामा मेयरमा थोरै मतले मात्र तत्कालीन एमालेका गोविन्द पुनसँग पराजित बनेका थिए । संघ र प्रदेशको निर्वाचनको समयमा बागी उम्मेदवारलाई समर्थन गरेको भनी पार्टी हेडक्वाटरले उनलाई केही समयका लागि सबै जिम्मेवारीबाट हटाएको थियो । पार्टीले कारबाही फुकुवा गरिसकेकोले उनलाई अहिले जिल्ला अध्यक्षको बलियो दाबेदारका रूपमा समेत हेर्न थालिएको छ ।

 

४. लोकबहादुर डाँगी


लोकबहादुर डाँगी तत्कालीन नेकपा एमाले सल्यानका जिल्ला अध्यक्ष गोविन्द पुनसँग थोरै मतले जिल्ला अध्यक्षमा पराजित भएका नेता हुन् । सल्यानमा अरूभन्दा केही चलायमान र जनसम्पर्कमा रहिरहने नेताको रूपमा आफूलाई चिनाउन सफल भएका डाँगी यसपटक एमालेको भागमा नेकपाको अध्यक्ष परेमा अध्यक्षको बलियो सम्भावना बोकेका नेताका रूपमा उनलाई पनि हेर्ने गरिन्छ ।

 

हुन सक्छ यस्तो,तत्कालीन माओवादी केन्द्रका ३ विकल्प !
तत्कालीन माओवादी केन्द्र सल्यानको पार्टी आन्तरिक विवाद अझै पनि खास नसुल्झिसकेको हुँदा यसपटक जिल्ला अध्यक्षको टुंगो त्यत्तिकै लाग्ने सम्भावना देखिँदैन । अहिले नेकपा जिल्ला अध्यक्षका दाबेदार नेबबहादुर कुँवर(विवेक) र कर्णबहादुर बुढाथोकी (छहारी) सजिलै अध्यक्ष हुने सम्भावनालाई न्यून बनाएको विभिन्न घटनाक्रमले जनाउ दिइसकेको बुझ्न सकिन्छ । त्यसैले यी दुई पात्रलाई एक पक्षले अर्कोलाई नमान्ने अवस्था आयो भने विकल्पका रूपमा नेतृत्वले अर्कै निर्णय लिने सम्भावनालाई नकार्न सकिँदैन ।

कृतिबहादुर पुन (प्रकाण्डसिंह)


पहिलो विकल्प,कृतिबहादुर पुन (प्रकाण्डसिंह) लाई तत्कालीन माओवादी केन्द्र सल्यानका पुराना नेताका रूपमा लिने गरिन्छ । माओवादी आन्दोलनको समयमा आफूलाई सोझो र इमानदार नेताका रूपमा उभ्याउन सफल पुन सबै पार्टीसँग सजिलै घुलमिल भएर अघि बढ्न सक्ने नेताको रूपमा चिनिने गर्छन् । अहिले सम्म पार्टीको कुनै लाभदायक पदमा नपुगेको र नेकपाको पार्टी केन्द्रीय सदस्य समेत नरहेकोले नेतृत्वले पार्टी भित्रको आन्तरिक मतभेद अन्त्यका लागि जिल्ला अध्यक्षका रूपमा रहेका दुवैलाई ब्याग गरी पहिलो विकल्पका रूपमा पुनलाई नेकपाको सल्यान जिल्ला अध्यक्ष बनाउने बलियो सम्भावना छ ।

 

 

दोस्रो विकल्प, रमेश मल्ल

– मल्ल तत्कालीन माओवादी केन्द्र सल्यानका चर्चित युवा नेताका रूपमा चिनिन्छन् । मल्ल तत्कालीन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष तथा पार्टीको पोलिटब्यूरो सदस्यका रूपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरेकोले उनलाई सल्यानका आशालाग्दा युवा नेताका रूपमा सबैले लिने गरेका छन् । त्यसैले नेकपाको जिल्ला पार्टी तत्कालीन माओवादी केन्द्रको भागमा परेको खण्डमा नेतृत्वले यिनै मल्ललाई दोस्रो विकल्पका रूपमा उभ्याउने सम्भावना त्यत्तिकै छ ।

 

 

तेस्रो विकल्प, रत्नबहादुर ओली

– ओली तत्कालीन माओवादी केन्द्र निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय अध्यक्ष तथा शिक्षक महासंघको सहअध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्दै पार्टीको पोलिटब्यूरो सदस्यको रूपमा रहेका नेता हुन् । उनलाई पनि क्षमतावान तर अवसर नपाएका नेताका रूपमा लिने गरिन्छ । पार्टी नेतृत्वले यिनै ओलीलाई नेकपाको जिल्ला अध्यक्ष बनाउन आफ्नो अन्तिम विकल्प प्रयोग गर्ने सम्भावनालाई नकार्न भने सकिँदैन ।

 

र, अन्त्यमा ….
यो समाचार टिप्पणी तयार पार्दा सम्म विभिन्न स्रोतले जनाएअनुसार नेकपा सल्यानको अध्यक्ष तत्कालीन माओवादी केन्द्रको भाग पर्ने सम्भावनालाई नकार्न सकिँदैन । जिल्ला अध्यक्ष को बन्ने भन्ने बारे अझै पनि नेतृत्व दोधारमै रहेको देख्न सकिन्छ । तर तत्कालीन माओवादी केन्द्र सल्यानको मूल नेतृत्वका रूपमा रहेका अहिलेका प्रतिनिधिसभाका सभासद तथा नेकपाका केन्द्रीय सदस्य टेकबहादुर बस्नेत सकेसम्म पहिलो दाबेदारका रूपमा रहेका नेबबहादुर कुँवर (विवेक) लाई नै नेतृत्वका लागि अघि बढाउनेमा रहेको बुझ्न सकिन्छ । तर अझै पनि त्यसको विकल्प के ? भन्ने बारे अलमल नै रहेको बुझ्न सकिन्छ । त्यस्तै, तत्कालीन माओवादी केन्द्र सल्यानका अर्का प्रभावशाली नेता रमेश कोइरालाले अझसम्म जिल्ला अध्यक्षको माथिका सम्भावित दाबेदार मध्ये कर्णबहादुर बुढाथोकी (छहारी)लाई नै रोजेको अवस्था छ । उनी पछिल्लो समय पार्टीलाई राम्रो हुन्छ भने अन्य विकल्पमा जान पनि तयारै भन्ने भावमा पुगेको देख्न सकिन्छ । र अन्त्यमा तत्कालीन माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा (प्रभाकर) र संयोजक मायाप्रसाद शर्मा अहिले दुई पार्टी एकीकरण कार्यदल सदस्य भएकोले यिनै दुई नेताले नेकपा सल्यान अध्यक्षको सन्दर्भमा कस्लाई अघि बढाउँछन् ? र,कुन विकल्प रोजेर सल्यानको समस्यालाई टुंगो लगाउँछन् भनी हेर्नलाई केही दिन अवश्य कुर्नु पर्ने देखिन्छ ।

(तिलकराज ओली एक दशक भन्दा लामो समय देखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् ।)

प्रतिक्रिया दिनुहोस्