सर्वाेच्च अदालतको आदेशमा छुटेलगत्तै गत शुक्रबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले काभ्रे जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ। उनीमाथि आगजनी मुद्दा जिल्ला अदालतमा छ ।
काभ्रे जिल्ला अदालतले बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो । काठमाडौं प्रहरीले चन्दा असुलेको आरोपमा गत साता उनलाई पक्राउ गरेकोमा सर्वाेच्च अदालते शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको थियो । लगत्तै अर्काे मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठककै गाडीबाट उनी पक्राउ परेका थिए । उनी पाठकको गाडीमा सर्वाेच्च अदालतबाट निस्किएका थिए । पाठकको गाडी रोकेर प्रहरीले पक्राउ गरेको हो ।
कांग्रेस नेता कुन्साङ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते सो पार्टीका कार्यकर्ताहरुले आगजनी गरेका थिए । आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो । आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ ।प्रकाण्डकै नेतृत्वमा सो आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको छ । बिश्वकर्मा पूर्व मन्त्री समेत हुन् ।
सोही मुद्दामा उनलाई अदालत पेश गर्न लागिएको हो । अदालतले उनको बयान लिएर थुन्ने वा छाड्ने आदेश दिनेछ । पक्राउ परेका प्रकाण्डलाई अदालतमा पेश गर्ने तयारी भइरहेको काभ्रेका एसपी रवीराज खड्काले बताए ।