एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।
टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, वसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी ,अनिलकुमार साह, विनोद भण्डारी, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल ललितनारायण राजवंशी, आरिफ शेख, सागर पुन, सन्दीप लामिछाने र सुवास खकुरेल रहेका छन् भने चार वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी रहेका छन् ।
मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले उक्त टोलीको नाम सार्बजनिक गरेको हो
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएइ, हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदैं १७ र हङकङसँग भदौं १९ गते खेल्ने कप्तान खड्काले जानकारी दिए ।
एसिया कपको छनोट प्रतियोगिता भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने छ ।
प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् भने उक्त प्रतियोगिता जित्ने टोलीले युएइमा हुने एसिया कपमा सहभागिता हुन् पाउने छ ।