सप्तरीमा गर्मीसँगै परेको वर्षाका कारण जिल्लाको विभिन्न खोला र नदीमा पानी पसेपछि अहिले सर्पदंशका बिरामी बढ्दै गएका छन् ।
पछिल्लोपटक सर्पको डसाइबाट सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सय जनाभन्दा बढी प्रभावित भएको छ । वर्षासँगै खोलानाला र नदीमा पानी पसेपछि सर्प बस्ने ठाउँ नभएको तथा बाढी पहिरोसँगै पहाडी जिल्लाबाट भागेर आएका सर्पका कारण पनि जिल्लामा अहिले सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ ।
वर्षापछि जिल्लाको शहरी तथा ग्रामीण क्षेत्रमा बसोवास गर्ने स्थानीयवासी सर्पको डसाइबाट प्रभावित बनेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने क्रम बढेको अस्पतालले जनाएको छ ।
जिल्लाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको अञ्चल अस्पतालमा अहिले दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारको लागि आउने गरेको अस्पतालका प्रमख चुमनलाल दासले बताउनुभयो ।
“सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएपछि अस्पतालमा उपचारको लागि आउने बिरामी थपेकाले अहिले श्ययाको अभाव भएको छ” उहाँले भन्नुभयो । अस्पतालको सघन उपचार कक्षमा २५ श्यया रहेकाले दैनिक बिरामीको सङ्ख्या बढेपछि यहाँ राख्ने ठाउँको अभाव भएको प्रमुख दासले बताउनुभयो ।
खासगरी अहिले जिल्लाको विभिन्न ठाउँमा गर्मी बढेपछि तराई–मधेसमा देखिने गोमन, हरहारा, ढोरियालगायत बिषालु सर्प जताततै देखा पर्न थालेको राजविराज–३ का उमेश यादवले बताउनुभयो । (रासस)