‘मिस नेपाल युएसए २०१८’ को शीर्ष उपाधिका लागि १८ प्रतियोगी भिड्ने भएका छन् । विभिन्न चरणको अडिसनबाट छानिएर यी प्रतियोगी अन्तिम प्रतिस्पर्धामा आएका हुन् । १९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीहरु अहिले विभिन्न प्रशिक्षण लिइरहेका छन् । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजीव श्रेष्ठले उनीहरुको प्रतिभा निखार्ने काम गरिहेका छन् ।अदिती श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृति ढुंगेल, सुशाना पोखरेल र स्वीकति भट्टराई अन्तिम प्रतियोगिताका लागि छानिएका प्रतियोगी हुन् ।
‘मिस नेपाल युएसए’ आफ्नो लागि अवसर र चुनौति दुवै भएको प्रतियोगीले बताएका छन् । प्रतियोगितामा सहभागी अधिकांश प्रतियोगीले नेपाल र अमेरिकामा रहेका नेपालीको निम्ति सामाजिक काम गर्ने बताएका छन् ।इभेन्ट प्लानेट इंकले इप्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको ‘मिस नेपाल युएसए २०१८’ को छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेन्मेन्टले लिएको छ । टेक्सासको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सास र नेपाल पर्यटन बोर्डले समेत साथ दिएको छ ।प्रतियोगितामा ‘मिस नेपाल युएसए २०१८’ को उपाधिका साथैं फस्ट रनर अप र सेकेण्ड रनर अप समेत घोषित गरिने छ । अन्य विभिन्न आधा दर्जन उपशीर्ष बिजेता समेत छानिने प्रतियोगीताको प्रचारप्रसार इप्लानेट नेपालका अध्यक्ष सन्तोष सापकोटाले गरिरहेका छन् ।