साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ ।
दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी ( पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु. ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढाले सो रकम हस्तान्तण गर्नुभयो ।
सो रकम साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित निकायसम्म पु¥याउन परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया शुरु गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । मन्त्री ज्ञवालीले ब्लडमनी रकम साउदी अरब पु¥याएर दिलबहादुरलाई जति सक्दो चाँडो नेपाल ल्याउने बताउनुभयो । रासस