आजभोलि सबै मानिसको हातमा मोबाइल देखिन्छ । अधिकांश युवायुवती मोबाइलमै व्यस्त देखिन्छन् ।
नेपाली बजारमा प्रविधिले आफूलाई स्थापित गरिरहेको छ । प्रविधिले कतिपय कामलाई निकै सहज बनाएको छ । तर प्रविधिकै कारण नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् ।
प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गएको छ । महिला सिधै दलालको पोल्टोमा पर्न थालेका छन् । चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन् ।
विगतमा भौतिक उपस्थितिमै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पु¥याउने गरेको पाइन्छ । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् ।
फेसबुक, म्यासेन्जर हुँदै इमो चलाउने ग्रामीण क्षेत्रका महिलाको सङ्ख्या उच्च देखिएको छ । ग्रामीण क्षेत्रका अधिकांश महिलाले फेसबुकभन्दा इमो बढी चलाउने गरेका छन् । “फेसबुक र म्यासेन्जरभन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्,” माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले भन्नुभयो, “दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।”
अहिले दलाल भारतीय शहरमा बसेर नेपालबाट महिलालाई बोलाउने गरेका छन् । “विगतमा महिला बालबालिका बेचबिखनमा संलग्न मुख्य नाइके फेला नपरे पनि बिचौलिया पक्राउ पर्ने गरेका थिए । अहिले फोनकै भरमा महिलालाई भारत ओसार्न थालेपछि नियन्त्रणमा समेत चुनौती थपियो” उहाँले भन्नुभयो ।
मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ ।
छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागीर लगाइदिने, प्रेम तथा विवाह गर्ने बाहनामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको यस क्षेत्रमा कार्यरत सङ्घसंस्थाको अनुभव छ ।
माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रुपमा रहेको बताउनुहुन्छ । १८ देखि ४५ वर्ष उमेर समूहका महिला तथा बालबालिका बेचबिखनको उच्च जोखिममा रहेको माइती नेपालको तथ्याङ्क छ ।
संयोजक कोइरालाले भन्नुभयो, “अहिले आठदेखि १२ कक्षासम्मका किशोरकिशोरी बढी जोखिम छन् । यसमा मध्यम तथा उच्च वर्गका धेरै छन् । प्रविधिको उच्चतम प्रयोग भएको देखिन्छ । मानव दलालले इमोमार्फत महिलासँग कुराकानी गर्ने गरेको पाइन्छ । तस्करले ग्रामीण क्षेत्रका महिलालाई समेत निकै जानकार बनाइसकेका छन् ।”
अहिले भारतमा मात्रै नभई तेस्रो मुलुकमा समेत महिला तथा किशोरीलाई मानव तस्करले पु¥याउँदै आएका छन् । “बिलासिताप्रतिको बढ्दो आकर्षण, पारिवारिक समस्या, बेरोजगारलगायतका कारण महिला–बालबालिका जोखिममा छन्,” संयोजक कोइरालाले भन्नुभयो ।
दलालले बहिनी, श्रीमती, छोरीलगायतका नाता लगाएर भारत तथा तेस्रो मुलुकमा काममा लगाइदिने तथा सँगै बस्ने बहानामा नेपाली युवतीलाई सीमा कटाउने गरेका छन् । युवतीकै नातेदार र घरपरिवारलाई सीमा कटाउन लगाएर पनि युवतीको बेचबिखन तथा ओसारपसार हुने गरेको छ । पारिवारिक हिंसा, अभिभावकको हेलचेक््रयाइँ, अपरिपक्वता, छिटो धनी र सुखी बन्ने सपनाले पनि कतिपय नेपाली चेली बेचिने गरेको धेरैको बुझाइ छ ।
“जोखिममा परेका महिला–बालबालिकाले उद्धारका क्रममा आफ्नो वास्तविक पहिचानसमेत लुकाउँदा उद्धारमा कठिनाइ हुने गरेको छ,” संयोजक कोइरालाले भन्नुभयो, “दलालले नै नाम र ठेगाना गलत भन्न लगाएका हुँदा रहेछन् ।” खाडीमुलुक जानका लागि हिँडेका अधिकांश महिलामाथि भारतबाटै हिंसा शुरु हुने गरेको पाइएको छ ।
रोजगारका लागि दलालमार्फत गएका महिलालाई रोजगार कम्पनी र प्रवेशाज्ञाबारे जानकारी हुँदैन । खाडीमुलुकमा कामदार पठाउनका लागि दलालले नेपाली एयरपोर्टबाट सकेसम्म भारत नै पु¥याउने कोशिश गरेका हुन्छन् । भारतीय बाटोबाट तेस्रो मुलुक पठाउँदा कम खर्च लाग्ने र दलालले राम्रो नाफा कमाउने भएकै कारण त्यसो गरिएको कोइरालाले बताउनुभयो ।
दलालले बहिनी, श्रीमती, छोरीलगायतका नाता लगाएर भारत तथा तेस्रो मुलुकमा काममा लगाइदिने तथा सँगै बस्ने बहानामा नेपाली युवतीलाई सीमा कटाउने गरेका छन् । युवतीकै नातेदार र घर परिवारलाई सीमा कटाउन लगाएर पनि युवतीको बेचबिखन तथा ओसारपसार हुने गरेको छ । शिक्षाको कमी, आर्थिक विपन्नता, खुला सीमा, असुरक्षित बसाइँसराइ प्रमुख छन् ।
पारिवारिक हिंसा, अभिभावकको हेलचेक््रयाइँ, अपरिपक्वता, छिटो धनी र सुखी बन्ने सपनाले पनि कतिपय नेपाली चेली बेचिएका छन् । फोन, फेसबुक, इमोजस्ता सामाजिक सञ्जालको माध्यमले महिला तथा बालबालिकालाई सजिलै आफ्नो जालमा पार्न सफल भएपछि दलाल हौसिएका छन् । प्रत्येक वर्ष चेलीबेटी बेचबिखनको दर पनि बढ्दै गएको छ ।
माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जले आव २०६७÷६८ देखि २०७४÷७५ सम्मको अवधिमा १८ हजार ७९९ वटा घटनामा प्रत्यक्ष काम गरेको तथ्याङ्क उल्लेख गरेको छ । जसमध्ये जोखिमपूर्ण यात्रामा रहेका चार हजार ११५ जनालाई सीमा नाकाबाट उद्धार, चार हजार ३०३ जनालाई मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिएको, श्रम र यौन शोषणमा परेका १९७ जनाको उद्धार गरिएको तथ्याङ्कमा जनाइएको छ ।
त्यस्तै बोडरबाट परामर्श दिएर दुई हजार ३७६ लाई घर फिर्ता गरिएको र ६७ जना किशोरीलाई विभिन्न सीपमूलक तालीम दिइएको जनाएको छ । सो अवधिमा सात हजार ३३५ जना हराएकामा तीन हजार ५७५ जनाको खोजतलास गरी परिवारको जिम्मा लगाएको छ भने ३५२ वटा घरेलु हिंसाका घटनामा १६४ समाधान गरेको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा ३८ वटा बेचबिखनका घटनासँग सम्बन्धित मुद्दा दर्ता भएका छन् भने १६ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएको जनाइएको छ । (रासस)