नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा बित्न नउपाउँदै तिव्वती नेतासँग बसेको उनको फोटो सार्वजनिक भएको छ ।
इन्डिया फाउन्डेसनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा तिब्बती निर्वासन सरकारप्रमुख प्रधानमन्त्री लोप्साङ साङेसँग बसेको नेता देउवाको फोटो बिहीबार बाहिर आएको आजको नागरिक दैनिकमा समाचार छ ।
देउवाले भारतमा साङेसँग भेटवाता गरेको भन्दै चीनले नेपालसँग असन्तुष्टि जनाएपछि परराष्ट्रमन्त्री प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरी देउवाले त्यस्तो भेटवार्ता नगरेको भन्दै बचाउ गरेका थिए । भारत भ्रमणबाट फर्कने क्रममा देउवाले पनि कुनै तिब्बती नेतासँग आफ्नो भेट नभएको दाबी गरेका थिए ।
फाउन्डेसनको कार्यक्रमस्थलको दर्शकदिर्घामा देउवा र साङे सँगै बसेको फोटो साउथ एसिया चेकले सार्वजनिक गरेको हो ।