दशैं-तिहारको छुट्टी । खुलस्त आकाश । खोलाहरुको गीत । अनि सिरसिरे बतासको, फिरफिरे संगीत । त्यसमाथि बिहान साँझ गुन्जिरहने चराहरुको चिरपिर । न धेरै गर्मी, न उति जाडो । हो ! साच्चै यो मौसम घुमघामको हो । संसार घुम्न मन गर्नेहरुका बेस्टी महिना हुन् सायद, असोज-कात्तिक । यहीं सुन्दर मौकाको सदुपयोग गर्दै धेरै पुगे यसपाली, मनाङ-मुस्ताङ तिर । एकाएक फेसबुक र ट्विटरका भित्ताहरु मुस्ताङमयी भए । सबैले लेखे,”वास्तविक स्वर्ग त मुस्ताङ नै हो ।” मलाई लाग्यो, होला सायद ।
फोटो हेर्दा पनि त त्यस्तै लाग्थ्यो । मन, यस्तै कुनै रोमाञ्चक सफरको तलासमा थियो । तर, किन-किन कुनै तारतम्य मिल्न सकिरहेको थिएन । यसैक्रममा आए रामलाल जोशी, ‘ऐना’ लिएर । कतै पढेको थिएँ,”ऐना सङ्घर्षशील सुदुर पश्चिमेली समाज, पात्र, घटना र जनजीवनको वास्तविक ऐना हो ।” बस् यहीँ त म चाहन्थें । यस्तो सफर जहाँ केवल प्रकृतिको अलौकिक लीलामात्र हैन, केही मानविय सुसेलीहरु पनि सुनियोस् । जहाँ उदाउँदो विहान र अस्ताउँदो दिन सँगै, कल्पना र यथार्थका मदहोस गुन्जाएसहरु पनि भेटिउन् । सुदुरपश्चिममा पाउन सकिन्थ्यो यी सब । त्यसैले, लागें ‘ऐना’ हेर्दै, जोशीले देखाएको बाटबाटै, उनको आफ्नै सुन्दर-सुदुरपश्चिम । ***
यसअघि पनि धेरै पटक पुगेको छुँ म सुदुरपश्चिम तिर । कहिले मोहन मैनालीको ‘माण्ठा डराएको जुग’ सँगै, त कहिले शारदा शर्माको ‘भुइँफुलको देश’ सँगै । अनि कहिले कान्तिपुर र अन्नपूर्णका शनिबारीय लेखहरु सँगै । यसपालि त अझ धेरै घुमाइदिए मलाई, रामलाल जोशीले । मन मस्तिष्क हल्लाउनु त उनको विशेषता नै रैछ । आँसु टिल्पिलाउन बाध्य पार्दिए, उनका कथाहरुले । उनका कथाहरु केवल कथा मात्रै होइनन्, ती त प्रतिबिम्ब हुन् सुदुरपश्चिमेली जनजीवनको भुत र वर्तमानका । चित्र हुन्, शुदुरपश्चिमेली समाजका । सुगन्ध हुन्, सुदुरपश्चिमेली माटोका । अनि हुन् भोक, शोक र वियोगका कथा, अवहेलना, उपेक्षा र सन्तापहरुका कथा । ‘पुस्तक पढ्ने कुरा हो’, भन्ने मेरो पुरानो मान्यतालाई पूर्णतः ध्वस्त पार्दियो ‘ऐना’ले । बिल्कुल कुनै शालीन चलचित्रका दृश्यहरु झैं सलल बगेका छन्, यहाँका पंक्तिहरु । धेरै पछि आज यसरी रन्थनिएको छुँ म । एक अलौकिक रन्थनाहट । ***
निकै धेरै छ ‘ऐना’मा । यहाँ भेटिन्छन् आफ्नै आमाका लागि ग्राहक खोज्ने ती बहादुर छोराहरु । यहाँ देखिन्छन् आमाका लागि छोराले, छोरीका लागि बुबाले, जोईका लागि पोईले ग्राहक खोजेका दृश्य र आमाले आफ्नै अबोध छोरीको कुमारीत्व लुटाएको दृश्य । हाय ! समय । हाय ! समाज । यहीँ भेटिन्छिन् पृथ्वी नै जिरिङ-जिरिङ हुनेगरी रोइरहेकी माइलीमाँ, जसका प्राणप्यारा नै कुष्ठरोग लागेर ईश्वर प्यारा हुन पुग्छन् । उनको अलाप बिलापले गुन्जिन्छ सुदुरपश्चिम ,”ओ मेरा बाज, पहाडको मर्द भइ नजन्मनु, मदेसको बल्ल भै नजन्मनु । लायाको बिस्तरामनी पुतलीको भेषमा आइ जानू ।” तर उनको व्यथा, कसलाई के था । अनि, यतै कतै सुनिन्छ सेती जस्तै सेतीको सुस्केरा, काली जस्तै कालीको गीत । भोक र शोकले थिलथिलो बनेकी कोइली रोकाया पनि भेटिन्छिन् यहाँ । चारगेडा चामल मिल्ने आशमा सदरमुकाम आइपुगेकी कोइली कोकिल कण्ठमा कराउँछे,”घरमा खाउँ भन्या अन्नको गेडो नाँइ हजुर । यी लालाबालाकन क्या ख्वाईकन पाल्नु हो ? आफ्नै मासु काटेर ख्वाउँ भन्या पन हाडछालाबाहेक केई छैन प हजुर !”उफ् ! कोइली । हाय ! समय । वा ! ऐना । ***
यहीँ ऐनामा देखिन्छे ठकुरानी प्रेमलता, जो आफ्नो पति रिक्सावाल वीरबहादुर चौधरी बताउनमा कुनै संकोच मान्दिन । उसको रिक्सा पछाडि बसेर खुल्ला आकाश हेर्न मन पराउँछे उ । भन्छे,”कालो सिसावाल कारमा घुम्ने आइमाईले जगतलाई पनि कालै देख्छे । कालो सिसाले जिन्दगीको उज्यालो पाना छेकिदिन्छ । मैले आफ्नो श्रीमानको खुला रिक्सामा घुम्दा जगतलाई पनि खुला नै देख्ने गरेकी छु ।” अहो ! प्रेमलता । उ प्रष्ट छे आफ्नो विचारमा । दृढ छे आफ्नो दर्शनमा । उसको नारीबाद अलि पृथक छ,”विवाह नहुदै परासरबाट बच्चा जन्माएकी मत्स्यगन्धा सत्यवती बनेर शान्तनुकी रानी भइन् । अविवाहित अवस्थामा नै कर्णलाई जन्माएर खोलामा बगाइदिएकी कुन्तीले पाण्डुकी श्रीमतीका रुपमा रानीको दर्जा पाइन् । पाँच-पाँच जनाकी पत्नी भएकी द्रोपदी युगौँयुगसम्म पनि सम्मानित छे तर मरेका तिनैलाई आदर्श नारी मान्ने हाम्रो समाजले वर्तमानमा बाँचेका कैंयौं नारीहरुलाई जिउँदै मारिदिएको छ ।”उ अजिब छे । उ चाहन्छे कि उसको छोरो पनि एक साहित्यकार बनोस्, व्यास ऋषी जस्तै, जसले आफ्नी आमा सत्यवतीलाई महान बनाइदियो । हे प्रेमलता ! वा तिम्रो महानता !! यहीँ कतै छ छुस्स छुस्स यौनको खुल्ला निम्तो । निकै कलात्मक छ लेखकको फ्रायडवादी यौन विश्लेषण । बि.पी.कोइराला पछि उनकै कृतिमा देखियो यति सम्मको यौन कुण्ठा माथिको कलात्मकता । कतै यौन व्यवसायीको बक्यौता, त कतै गुपचुप प्रेम-सम्बन्ध । यौनिक बाल सुलभता त झन निकै उत्कृष्ट ढंग बाट देखाइएको छ, पापीघाट कथामा । कथाक्रमको अन्त्यतिर आइपुग्दा, उनी जीवनको रहस्यमयी यथार्थलाई खोतल्ने प्रयास गर्छन् । उनी कहिँ जिन्दगीलाई सडकमा देख्छन्, त कतै खुटियाको छेउछाउ गिट्टी कुटिरहेका कुटिहरुमा । उनी जिन्दगीको अस्थायीत्वलाई प्रष्ट्याउदै भन्छन्,”साँझ हातमा भएको लाख रुपैयाँ बिहान उठ्दा सकिएजस्तै, जिन्दगी पनि आफैंबाट फुत्केर गएको थाहा हुँदैन रैछ । दिनहरु फुत्किन्छन् । वर्ष फुत्किन्छन् । बैँस फुत्किन्छ र एक दिन जिन्दगी फुत्केर जान्छ । आँगनको पारिलो घाम फुत्केर गएजस्तै ।” हाय जीवन ! ***
यी-यस्तै सेरोफेरोमा घुमें म । मानसपटलमा एउटै गीत गुन्जिरहेथ्यो “कैलाली कंचनपुर, सँगै सँगै जाउँला हामी सुदुरपश्चिम टुर ।”लाग्थ्यो यो गीत रामलाल जोशीले नै गुनगुनाइ रहेका छन् । उनको यति मीठो आमन्त्रण म चाहेर पनि भुल्न सक्ने छैन । रिएली म्यान ! यु ह्याभ डन अ ग्रेट जब । इट इज रिएली अ मास्टरपिस । यु ह्याभ मेड माइ भ्याकेसन ! अनि धेरै धेरै बधाई पनि, यसपालीको मदन पुरस्कारबाट पुरस्कृत भएकोमा । बस् यत्ती भन्छु कि,”ऐना नपढ्ने नेपाली पाठक जिन्दगीभर पछुताउनु पर्नेछ । मिलेसम्म मात्र पढ्ने पुस्तक होइन ‘ऐना’ । जसरी पनि पढौं । कम्तिमा एकपटक ।” *** ***