घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४/७५ मा म्याग्दी जिल्लामा रु दुई करोड २८ लाख ३९ हजार राजश्व संकलन भएको छ ।
जिल्ला मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेलका अनुसार गत आवमा ग्रामीण क्षेत्रमा एक हजार १८४ र शहरी क्षेत्रमा एक हजार ७९ घरजग्गाको लिखत पास भएको थियो । आव २०७३/७४ मा एक हजार ९०८ रजिस्टे«शन पास हुँदा रु एक करोड ६४ लाख ५९ हजार राजश्व संकलन भएको थियो । आव २०७२/७३ मा दुई हजार २५२ रजिस्टे«शन पास हुँदा रु एक करोड ७७ लाख २५ हजार राजश्व उठेको थियो ।
राजनीतिक स्थिरता, संघीयताको कार्यान्वयन, मुआब्जा वितरणलगायत कारणले गत आवमा घरजग्गाको कारोवार बढेको पौडेलले बताउनुभयो । गत आवमा रु एक करोड ८३ लाख ४२ हजार राजश्व संकलनको लक्ष्य राखिएको थियो । लक्ष्य गरेभन्दा ११७ प्रतिशत बढी राजश्व संकलन भएको अधिकृत पौडेलले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस्