रङगीन यौवनहरु
एक मुट्ठी स्वासका लागि
प्रदेशी भुमिमा बेच्दा बेच्दै
झाङ्गीएर सुकेको
गुलाबको बोटझै लाग्ने
कन्टेनरमा फ्याकिएको
फोहोरको डङ्गुर झै लाग्ने
लाखौ,
रङ्गहिन
स्वादहिन
जिन्दगी जस्तै म,
जेलको चिसो छिडी झै लाग्ने
बिरानो बस्तीको
अधेरो कोठामा
हातलाई सिरानी राखेर
अत्यासलाग्दो रात कटाउने
बहाना खोजिरहेछु
बिदेशी बोतलभित्र
सम्झनाका नसाहरु मिसाएर …।
नाथे चुक घोप्टिएको
रातहरुले पनि
मेरो बाध्यता
देशको बिकटता माथि
उपहास छर्दा
मनभित्र आक्रोशको
ज्वालामुखी दन्काएर
चरम आधुनिकताले
आगो लागेको शहर
फनफनी अँखा घुमाएर हेर्छु ।
केवल साठ्ठिवाटको बल्ब भित्र
खुम्चिएको रातहरुमा
आफ्नै गाउको
जुन र जुनकीरीलाई सम्झिन्छु
जसको सितलता र प्रकाशको
धज्जी उडाएका छ्न यहाँका रातहरुले
मरेको लास बोक्ने मलामी झै लाग्ने
रेलका साईरनहरुले
बिहानको घण्टी बजाउदा
आमालाई पधेरो
बा-लाई मेलापात
झिस्मीसेमै पठाउने
भालेको डाको सम्झिन्छु ।
हुत्तिदै आएका गाडिहरुले
मुखभरी धुलो र धुवा फालीदिदा
घरै माथिको वरपिपलको
सिरसिरे हावालाई सम्झिन्छु ।
विद्युतिय उपकरण जोडिएको
चोक र आधुनिक सडक बिचबाट
गोठालो जादा हिडेको
गोरेटो सम्झन्छु ।
अपार्ट्मेन्टका भर्र्याङ्हरु चढ्दा
कुमाख, निगालचुला
अनि त्यहाँका बिसौनीहरु
पुर्ब तिर फर्किदा
आखाभरी आउने जलजला
अनि सगरमाथा सम्झन्छु ।
थाहा छैन फर्कने दिन
जसरी फर्कन्छ चरी
हर साझ
आहारा बोकेर गुडमा
तैपनि ,
रहरहरु पोको पारेर
उधारो खुसीमा
आधा आधा जिउदै
स्नेहका रङ्गिन पुष्पगुच्छाहरुले
छातीभरी सजाएर
मनको तरेलिमा
पलपल नाचिरहेछ..हाँसीरहेछ
मेरो देश