सदीयौंदेखि उनी मौन छिन् । ‘मौनता’ उनको सर्वश्रेष्ठ परिचय हो । तर पनि आवाज हुन् उनी, जिब्रो नचल्नेहरुकी । संगीत हुन् उनी, आवाज नसुन्नेहरुकी । अनि, आँखा नदेख्नेहरुकी त संसारै हुन् उनी । भन्नेहरुले मौनतालाई उनको सरलता भनिदिन सक्छ्न् । तर, उनको मौनता, उनको महानता हो । मौनता महानिर्वाणको सुचक हो । संसारमा थोरैसँग हुन्छ यस्तो गुण, जो सांसारिक कुराहरुमा बिल्कुल मौन रहन सक्छन् । मलाई खुसी लाग्छ, उनी ती थोरै महानहरु मध्ये कि एक हुन्, जो चिच्याउनुमा कुनै तुक देख्दिनन् । र त सदीयौंदेखि उनी चुपचाप तर रहस्यमयी भैरहिन् । उनी अर्थात शारदा : मेरी पहिली प्रेमिका ।
उनी कुनै निश्चित आकारमा बस्न रुचाउँदिनन् । सदा उन्मुक्त अन्दाजमा हुन्छिन् उनी । जहाँ गयो, त्यस्तै भैदियो । जहाँ हिड्यो, उतै रमाइदियो । कुनै सन्देह छैन उनको स्वछ्ञ्दतामा । कसैको रोकटोक छैन, उनको मनमौजीमा । किन्तु कसैले बनाइ दिएको गोरेटोमा हिड्ने उनको बानी छैन । उनी आफैमा एक ईन्जिनियर हुन्, अनि स्वयममा एक ड्राइभर । आफैं खन्छिन् उनी आफ्नो बाटो, आफैं चलाउछिन् उनी आफ्नो जीवनको स्टेरिंग । कोहि कसैको आश बिना, कोहि कसैको साथ बिना । आफैंमा सम्पुर्ण छिन् उनी । खोज्दिनन् उनी कसैको महंगो सहयोग, र त बिल्कुल स्वतन्त्र छिन् उनी । उनी अर्थात शारदा : मेरी पहिली प्रेमिका ।
उनी ओरालो हिड्न मन गर्छिन् । म, उनको आसपास । उनी यथार्थमा तैरिने कुरा गर्छिन् । म भने कल्पनामा उडान भर्ने ध्याउन्नमा हुन्छुँ । तर उनी हार्न मान्दिनन् । म उनलाई हराउन जान्दिनँ । बरु तैरिदिन्छुँ उनी सँगै सल्लेरी पहाडहरुको बिच, राप्ती राजमार्गको तिरैतिर । उनी एकान्तमा टहलाउने गर्छिन् । म उनको एकान्त सुन्न मन पराउछुँ । बेलाबेलामा उनी शुसेली हालेझैं गर्छिन् । म उनको शुसेलीमा संगीत भरिदिन्छुँ । त्यतिबेलै छेउछाउका पत्थरहरु आपसमा ठोकिन थालेको भान हुन्छ । अनि, त्यसैमा मिसिन्छ चराचुरुङ्गीको मन्द-मन्द चिरबिर । र बन्छ एउटा कालजयी प्रेमगीत, गुन्जिन्छ उनको समिप । उनी अर्थात शारदा : मेरी पहिली प्रेमिका ।
…
…
हुबहु उनी जस्तै छ हाम्रो प्रेम पनि । बिल्कुल मौन-चुपचाप । हाम्रो प्रेमको साक्षी नै बनेको छ ‘मौनता’ । उसैलाई थाहा छ, हाम्रो प्रेमको गहिराई । उसैले बताइदिने छ तपाईंलाई, हाम्रो प्रेमको जन्मकुण्डली । उसैले त हो अझैसम्म जम्मा गरी राखेको, ती असिमित हाँसो र आँशुका फोहोराहरु, जुन मैले बचपनदेखि उनीसँगै साटिरहेको छुँ । गुपचुप छ हाम्रो प्रेम । न त कुनै होहल्ला, न त कुनै प्रचारबाजी । हाम्रो प्रेम फेसबुक र भाइबरले जुराएको ‘भाइरल प्रेम’ होइन, कि पलभरमै चुम्बन-क्षणभरमै दुश्मन । जन्म जन्मान्तरको प्रार्थना छ यहाँ । सायद मायावी प्रेम हो हाम्रो, जहाँ कुनै वाद-संवादको जरुरत पर्दैन ।
हाम्रो प्रेमको अर्को विशेषता हो -‘स्वतन्त्रता’ । आफुजस्तै उनले हाम्रो प्रेम पनि स्वतन्त्र बनाई दिएकी छिन् । उन्मुक्त छ हाम्रो सम्बन्ध । तथाकथित अरुहरुको झै कुनै तगारो छैन हाम्रो प्रेम-सम्बन्धमा । खुलस्त स्पर्श गर्न सक्छुँ म उनको त्वचा । मनलागी गहिरिएर चुम्न सक्छुँ म उनको निधार । जहाँ भेट्यो, त्यही आफ्नो अङ्गालोमा लिन सक्छुँ म उनको शरीर । खेल्न सक्छुँ म उनको शरीरमा, बहन सक्छुँ म उनको हावभावमा । न त उनको कुनै रोकटोक हुन्छ यस्मा, न त समाज नै पहिरिन्छ कुनै शंकाको चश्मा । दौडाइदिन्छुँ जथाभावी मेरो शरीर-उनको शरीरमा, र पनि कुनै प्रश्न उठ्दैन उनको चरीत्र-उनको कुमारीत्वमा । वा !! क्या गजबको प्रेम छ, हाम्रो प्रेममा !!!
…
…
बचपन देखि आजसम्म, मेरो नजरमा उनी कहिल्यै सामान्य रहिनन् । उनका हरेक स्वभाबहरु मलाई चकित पार्न काफी थिए । त्यति चकित त म शायद आकाशमा उडेको जहाज हेर्दा पनि भइनँ । जहाज पनि के हो र अझ ! त्यति आश्चर्य त मलाईं जादुगरले पनि लगाएन होला सायद । यति टुनामुना लगाएका छ्न् मलाई, उनी अनि उनका स्वभावहरुले । चाहे थुकिदेओस् कसैले केही थुक उनको अनुहारमा, चाहे बर्साइदेओस् कसैले केही ढुङ्गा उनको शरीरमा । उनी कुनै गुनासो पोख्दिनन् । या त तुर्क्याइदेउन् कोहि पिसाब उतिसारो, या त खन्याइदेउन् कोहि रगतको धारो । कहिल्यै कसैसँग रिसाउँदिनन् उनी । बरु लम्किरहन्छिन् खुरुखुरु आफ्नै महान गन्तव्य तिर । बिना कुनै सन्देह, बिना कुनै विश्राम । उनी अर्थात शारदा : मेरी पहिली प्रेमिका ।
म पनि सम्हाल्न खोज्छुँ आफुलाई, उनले जस्तै । सक्दो रोक्न खोज्छुँ म आफ्नो रिस । बन्न चाहन्छुँ म पनि, उनी जस्तै मौन । बनिरहेको पनि छुँ हिजोआज, पहिले भन्दा केही शान्त । तर, गाह्रो हुन्छ त बस् त्यतिबेला, जब कसैले उनको नाम_थर सँगै जोडेर “शारदा_नदी” भनिदिन्छ्न् । शारदा : मेरी पहिली प्रेमिका हुन् !!! न कि कुनै एक फगत ‘निर्जीव नदी’ । सी इज नट अ ड्याम नन्-लिभिङ अब्जेक्ट । नो ! देखेको छुँ मैले उहिले देखि, उनीसँगै बगिरहेको उनको निर्मल कोलाज । मैले यी आफ्नै आँखाले देखेको छुँ, उनको धड्कनको चाल । मैले सुनेको छुँ, उनको गति र बेग । मैले मेरा आफ्नै हातले छामेको छुँ, उनको न्यानोपन । अनि, यति राम्ररी उनी चलमलाएको देख्दादेख्दै पनि, कसरी उनलाई प्राणविहिन निर्जीव भन्न मिल्छ र ???
फेरि उनी त आफैंमा एक संजीवनी हुन् । उनैले त धानेकी छिन् हरेक जीवको प्राण । सबैको अटुट तिर्खा मेटाइदिएकी छिन् उनले । उनी त एक प्राणरक्षक हुन् । अनि, यसरी अरुको जीवन बचाइरहेकी मेरी शारदा कसरी निर्जीव हुन सक्छिन् ? देख्दैनौं र पो हामी, होइन भने उनमा पनि छ जीवात्मा, चेतना छ उनीसँग । उनी सजीव हुन् । बरु निर्जीव त म हुँ । किनकि अहिलेसम्म मैले कसैको जीवन बचाइ दिएको छैन । अक्सर मारेको छुँ बरु । सिध्याइदिएको छुँ कसैको प्राण । अस्ति मात्रै घरमा एउटा बोकाको घाँटी छिनाली दिएँ । उसले मानेको थिएन मर्न । तर उल्टो उसले मानेको भन्दै लगाइदिए उसलाई रगतको टीका, त्यो पनि अदृश्य देबीको अदृश्य मन खुशी पार्न । निर्जीव हुनलाई यो भन्दा अरु चेतना शुन्य काम के नै गर्नु पर्यो र ! त्यसैले म हुँ चेतनाविहिन निर्जीव । आइ एम अ नन् लिभिङ मटेरिएल, नट हर । शारदा त एक असल जीव हुन् । शारदा कदापी निर्जीव हुन सक्दिनन् । उनी सजीव हुन् । उनी मेरी पहिली प्रेमिका हुन् !!! उनी अर्थात शारदा : मेरी पहिली प्रेमिका ।
!!! क्रमशः !!!