अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको म्याद तामेल भएको छ । करिव एक महिनाको रस्साकस्सी पछी बल्ल मुद्दा तामेल भएको हो ।
सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले लोकमानको नाममा म्याद तामेल भएको जानकारी दिएका छन्।
कार्की अख्तियार प्रमुख हुनका लागि आवश्यक योग्यता नभएको भन्दै परेको मुद्दामा प्रधानन्यायाधीशसहितको इजलासले पुनरावलोकन हुने फैसला सुनाएको थियो । र, अख्तियार प्रमुख कार्कीलाई सर्वोच्चमा उपस्थित हुन तामेली दिइएको थियो ।
तर, कार्की त्यसलाई छल्न विदेश भ्रमणमा गए । र, उनी अझैसम्म स्वदेश फर्किएका छैनन् ।
आज बिहान बानेश्वर हाइटस्थित लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई त्यहाँ उपस्थित करिब १ दर्जन युवाहरूको समूहले म्याद टाँस्न नदिएपछि सर्वोच्च अदालतका दुई तामेलदार म्याद नटाँसी फर्किएका थिए। म्याद टाँस्न असफल भएपछि उनीहरु वडासचिवको सहयोग लिन वडा कार्यालय गएका थिए।वडा सचिवको रोहवरमा तामेलदारहरुले एउटा कागज बनाएका थिए। त्यो कागज वडासचिवले पढेरै सुनाएकी थिइन्।
यस अघी पनी पुगेको टोलीलाई अवरोध गरेर फर्काईएको थियो ।
अबको १५ दिनभित्र विपक्षी लोकमानसिंह कार्की सर्वोच्च अदालत आफैं उपस्थित हुनुपर्ने छ वा आफ्नो प्रतिनिधि पठाउन सक्नेछन् । कार्कीले चाहेमा ३० दिनको म्याद थप्न पाउने छन् ।