संसदीय सुनुवाइमा पहिलोपटक प्रस्तावित पदाधिकारीका लागि लिखित प्रश्नावली तयार पारिएको छ । प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा परेका विभिन्न उजुरीहरुको अाज सामना गर्दैछन् । विहीबार हुने प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइका लागि समितिले लिखित प्रश्नावली तयार पारेको हो ।
हेर्नुहोस् यस्ता छन् उजुरी
प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध समितिमा पाँच उजुरी परेको छ ।
एक उजुरीकर्ताले सरकारी तथा गुठीको जग्गा व्यक्तिका नाममा आदेश गर्ने इजलासमा समेत संलग्न भएकाले महाभियोग लाग्नुपर्ने व्यक्तिलाई प्रधानन्यायाधीश नबनाउन माग गरेका छन् ।
यस्तै, न्यायप्रेमी नेपालीका नामबाट दर्ता भएको अर्को उजुरीमा न्यायालयभन्दा विचौलियाको भूमिकामा चिनिएका व्यक्तिहरूसँग प्रस्तावित प्रधानन्यायाधीशको उठबस रहेको भन्दै सिफारिस अनुमोदन नगर्न माग गरिएको छ । रणनीतिक महत्वका र विवादस्पद मुद्दाहरू निश्चित न्यायाधीशलाई दिने गरेको आरोप पनि उजुरीमा लगाइएको छ ।
अर्का एक उजुरीकर्ताले विशालबजार कम्पनीको पसल भाडामा दिने काममा अनियमितता भएको मुद्दामा दोषी ठहर भएका रवीन्द्रलाल श्रेष्ठको मुद्दा पुनरावलोकन गरेको आरोप उजुरीमा लगाइएको छ । समितिमा उजुरी दिने अर्का एक उजुरीकर्ताले राजस्व हिनामिनाका घटनामा न्यायालय प्रत्यक्ष संलग्न भएको आरोप लगाएका छन् । उजुरीकर्ताले प्रस्तावित प्रधानन्यायाधीश जोशीकै आदेशबाट पाँच अर्ब रुपियाँभन्दा बढीको राजस्व राज्यले गुमाएको पनि उजुरीमा दाबी गरिएको छ ।
अर्का एक उजुरीकर्ताले प्रस्तावित प्रधानन्यायाधीश जोशीले पारिवारिक सामाजिक कार्यमा करोड रुपियाँभन्दा माथि खर्च गरेको र उक्त रकम बैकिङ प्रणालीबाट नभएकोमा प्रश्न उठाएका छन् । उक्त सम्पत्तिको खर्चको स्रेस्ता नदेखाएको अवस्थामा जोशीलाई प्रधानन्यायाधीश बनाउन नमिल्ने तर्क उजुरीकर्ताको छ ।