तुलसीपुर, १ जेठ । शाहारा बिहिन बनेकी एक बालिकालाई दाङको असहाय बाल बिकास नेपाल बिजौरीले पालनपोषण गर्ने भएको छ ।
शाहारा बिहिन बनेकी जुम्ला घर भई हाल शन्तिनगर गाउँपालिका बस्दै आएकी १२ बर्षीया संगीता बुढालाई तुलसीपुर १८ मा रहेको उक्त संस्थाले पालनपोषण गर्ने भएको हो । उनलाई शान्तिनगरको एक घरमा पालन पोषण गरिदै आईएको थियो । तर, पछिल्लो समय कुनै वास्ता नदिने, पठन पाठन नगराउने समस्या भएपछि उक्त संस्थालाई ती बालिकाको पालण पोषण, शिक्षादिक्षाका लागि जिम्मा लगाईएको हो ।
शान्तिनगर गाउँपालिकाका जनप्रतिनिधि, महिलाअधिकारकर्मी,प्रहरीलगायतको सक्रियतामा ति बालिकालाई बालि बिकासको जिम्मा लगाईएको हो । शान्तिनगर गाउँ कार्यपालिका सदस्य चन्द्रा सुनार, शान्तिनगर गाउँपालिका वडा नंबर ४ का सदस्य बिष्णु घर्ती, महिलाअधिकारकर्मी राधिका परियारलगायतको पहलमा ति बालिकाको सुरक्षा, पालनपोषण, शिक्षादिक्षाका लागि संस्थाका कोषाध्यक्ष सीमा वली मार्फत संस्थालाई जिम्मा लगाईएको हो ।
मंगलबार ईलाका प्रहरी कार्यालय तुलसीपुरको रोहबरमा ती बालिकालाई बाल बिकासमा जिम्मा लगाईएको हो । यो संगै ईलाका प्रहरी कार्यालय तुलसीपुरले तीन बालबालिकाकालाई उक्त संस्थामा जिम्मा लगाएको छ । शाहारा बिहिन बालबालिकाको पालनपोषण शिक्षा दिक्षाका लागि कुनै पनि सरकारी निकाय नभएपछि अहिले असहाय बाल बिकास नेपाल बिजौरीले पालन, पोषण शिक्षा दिक्षा दिदै आएको छ । यस अघि प्रहरीले भेटाएका सबै बालबालिकाहरुलाई असहाय बालबालिकास नेपाल बिजौरीलाई पालनपोषण तथा शिक्षादिक्षाका लागि जिम्मा लगाउदै आएको छ ।
बाल बिकास सञ्चालनमा आएपछि बेशाहारा बालबालिकालाई जिम्मा लगाउन प्रहरीलाई पनि सहज भएको छ । अहिले उक्त संस्थामा २० जना बालबालिकाहरुलाई पालण पोषण तथा शिक्षा दिक्षा दिईदै आईएको अध्यक्ष बिष्णु चौधरीले बताए ।