Logo

जाउलाखेलमा भोटोजात्रा (फोटोफिचर)



काठमाडौं– वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ ।  मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु जावलाखेल पुगेका थिए । भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शीलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो ।  बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

त्यस अवसरमा राष्ट्रपति भण्डारी र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरेका थिए । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ । समापनसँगै मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकाली खटमा राखेर बाजागाजासहित बुङमति लगिएको छ ।

बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका एकजना ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ । यसै अवसरमा सरकारले आईतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको थियो ।

तस्बिर: शंकर भुजेल, सल्लेरी खबर

प्रतिक्रिया दिनुहोस्