Logo

स्वदेशमै रोजगारीको माग गर्दै आज राजधानीमा बृहत र्याली



Spread the love

बैशाख १५, २०७५-सल्लेरी खबर ।

राष्ट्रवादी केन्द्र नेपालले स्वदेशमै रोजगारीको माग गर्दै आज राजधानीमा बृहत र्यालीको आयोजना गरेको छ । भृकुटीमण्डपबाट शुरु भएको र्यालीमा हजारौं युवायुवतीहरु राष्ट्रिय झण्डा लिएर सहभागी भएका थिए । सहभागीहरुले देशका लागि आवश्यक युवाहरुलाई बैदेशिक रोजगारीको नाममा विदेश पठाएर सरकारले युवाहरु बेचेको र अब यस्तो कार्य बन्द गर्न सरकारसँग आक्रोस पोखेका थिए ।

कार्यक्रममा उपस्थितहरुले स्वदेशमै रोजगार न्युनतम मासिक तलब ३० हजारको ग्यारेन्टी गर, रोजगार नभए बेरोजगार भत्ताको ग्यारेन्टी गर , युवा बेच्न बन्द गर, माटो सुहाउँदो शिक्षा प्रणाली लागू गर, बन्द उद्योग संचालन गर जस्ता दबाबमुलक नाराहरु लगाएका थिए । उपस्थित सबैको माग शिक्षित बेरोजगार युवाहरुले स्वदेशमै रोजगारी पाउनु पर्ने रहेको राष्ट्रवादी केन्द्र नेपालका संयोजक एवं पत्रकार स्वागत नेपालले बताए । विगत २ वर्ष देखि संस्थाले यस्ता कार्यक्रमहरु गर्दै आएको पनि उनले जानकारी दिए ।

आज स्वदेशमै रोजगार पाएका थिए भने लाखौं युवाहरु खाडीको तातो घाममा पसिना बेच्न बाध्य हुँदैनथे , अभियन्ता महेश नेपालले भने , सरकारले स्वदेशमै प्रशस्त सम्भावना भएर पनि बेरोजगार युवाहरुलाई विदेशमा बेचेको छ । हामी ती वेचिएका र स्वदेशमै रहेर पनि काम नपाइरहेका लाखौं युवायुवतीहरुलाई रोजीरोटीको माग गरिरहेका छौं ।

नेपाल जस्तो धेरै सम्भावना भएको देशका लाखौं युवाहरु आज बेरोजगार हुनु र रोजगारीको नाममा लाखौं खर्च गरेर विदेशमा पसिना बेच्नु विडम्बना भएको सहभागीहरुको भनाई थियो । बौद्धिक विद्रोह जिन्दावाद भन्दै युवाहरुले सुन बेचौं, पानी बेचौं, जडिबुटी बेचौं, तर रोजगारीको नाममा मान्छे नबेचौं भन्ने सन्देशमुलक आवाजलाई बुलन्द पारेका थिए ।

कार्यक्रम रत्नपार्कमा पुगेर समापन गरिएको थियो । कोणसभाबाट युवाहरुले बौद्धिक विद्रोह गर्ने घोषणा गरेका छन् । चर्को घामको पनि कुनै परवाह नगरि उपस्थित हजारौं युवाहरुले प्रर्दशन गरिरहँदा रत्नपार्क आसपासको यातायात अवस्था भने केहिबेर अस्तव्यस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्