Logo

श्रीनिवासलाई गोली हान्ने भारतीय सुटर !



Spread the love

पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपी अरुण विसीले भने । त्यसका लागि भारत गएको विशेष टोलीले कलडिटेल पत्ता लगाउने र शंकास्पद व्यक्तिको खोजी गरिरहेको उनले बताए ।

सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए । विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भयो । कोखमा गोली लागेका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

यस्तो छ श्रीनिवासको विवादित पृष्ठभूमि
सुनसरीको चक्रघटीमा स्थायी आश्रम निर्माण गरेर बस्दै आएका पण्डित श्रीनिवासले ०७२ साउन दोस्रो साता इटहरीमा आन्दोलन चर्काएका थिए । उनकै अगुवाइमा संविधानमा ‘नेपाल हिन्दुराष्ट्र’ राख्न माग गर्दै आन्दोलन भएको थियो ।

चक्काजाममा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो । चार दिन थुनामा राखिएका उनी आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेपछि छुटेका थिए । वैदिक सनातन हिन्दुराष्ट्र नेपाललगायतका विभिन्न संस्थासँग जोडिएर श्रीनिवासले हिन्दु जागरण अभियान चलाउँदै आएका छन् ।

यही क्रममा सिरहाको लहानमा सात दिन आमरण अनशन पनि बसेका थिए । त्यस्तै, ०७१ मा हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा धर्ना पनि बसेका थिए ।  गत २९ फागुनमा पूर्वराजा ज्ञानेन्द्रसमेत उनलाई भेट्न चक्रघटीस्थित आश्रममा पुगेका थिए । दुवैजनाबीच एक घन्टा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्