Logo

जेठ १२ मा सलमान नेपाल आउने



Spread the love

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम पुनः तय भएको छ । खानलाई अदालतले ५ वर्षको जेल सजाए तोकेपछि उनी नेपाल आउने कार्यक्रम अलपत्र परेको थियो । तर, उनी अदालतबाट जमानतमा रिहा भएपछि नेपालको कार्यक्रम पुनः तय भएको आयोजकले जनाएको छ । जेलबाट छुटेको केही समयपछि नै नेपालको आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टलाई पत्रमार्फत दबंग टुरको भारतस्थित आधिकारिक इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल टुरको मिति सार्वजनिक गरेको हो । ‘दबङ द टुर नेपाल’ अन्तर्गत उनी नेपाल आउन लागेका हुन् ।

पत्रमा उनको नेपाल कन्सर्ट वर्ष २०७५ को शनिवार जेठ १२ गते उल्लेख छ । उक्त पत्र ओडिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि राखेको छ । यसअघि फागुन २६ गते उनी नेपाल आउने मिति तय भए पनि विप्लव माओवादीले नेपाल नआउन चेतावनी दिँदै त्यसैदिन नेपाल बन्दको घोषणा गरेको थियो । सलमान नेपाल आए कार्यक्रम बिथोल्ने चेतावनी दिएपछि आयोजकले कार्यक्रम वैशाखमा गर्ने जनाएको थियो । सलमान आउनेभन्दै आयोजक ओडीसी इन्टरटेन्मेन्टले चार हजार टिकट बिक्री गरिसकेको छ । कतिपयले टिकटको पैसा फिर्ता पनि लिइसकेका छन् । कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने कार्यक्रम छ ।

सलमानसँगै नेपाली कलाकार राजेश पायल राई, राजु लामा, सुष्मा कार्की र माला लिम्वूले आफ्नो प्रस्तुती प्रस्तुत गर्ने कार्यक्रम छ ।  ९० जना सहयोगी तथा सहकर्मीसहित सलमान नेपाल आएर तीन दिन बस्ने कार्यक्रम छ ।

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गतेको ‘द दबंग टुर’ कार्यक्रम तत्काललाई स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्