१३ मंसिर, काठमाडाैँ । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकले व्यहोर्दै आएका समस्याको समाधान खोज्न छलफल थालेको छ । जिम्मेवारी सम्हालेलगत्तै श्रम क्षेत्रको सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरोकारवालासँगको छलफललाई तीव्र पारेका छन् ।
सोही अवसरमा आज मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्केका नेपाली श्रमिकसँग छलफल गरे । छलफलमा सहभागीले स्वदेश फिर्ती, नेपाली श्रमिकले वैदेशिक रोजगारीमा भोग्नुपरेको बेथिति, वैदेशिक रोजगारीको सुरुआतदेखि नेपाल नफर्केसम्म नेपालीमाथि हुने गरेको ठगी र सरकारले तोकेका सेवासुविधा नपाएको गुनासो गरेका थिए । उनीहरुले बाध्यात्मक रुपमा वैदेशिक रोजगारी जानु परेको यथार्थ सुनाउँदै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र स्वदेश फर्केका युवाको पुनःएकीकरणमा ध्यान दिन आग्रह गरेका थिए । अझै पनि स्वदेशमा रोजगारीको अवसर नभएको हुँदा दैनिक हजारौँ युवा विदेसिन बाध्य छन् ।
स्वदेश फर्केका युवाले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो उनीहरुको थियो । सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा सङ्कलन गर्नुपरेको उनीहरुको भनाइ थियो । उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको, गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्यून पारिश्रमिकमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको बताएका थिए ।
वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको भोगाइ सुनेपछि मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र त्यस्ता कम्पनीमा नेपाली पठाउन बन्द गरिने बताए । वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै अगाडि बढाउने उनले बताए ।
मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनःएकीकरण गर्न कार्यविधि तयार गरिरहेको छ । कार्यक्रममा आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।