Logo

युवालाई प्रशिक्षित गर्न जागरण अभियान सञ्चालन



Spread the love

युवा जागरण अभियानले स्वदेशमा युवालाई रोजगारको व्यवस्था मिलाउनुपर्ने भन्दै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अभियानले स्वदेशमा रोजगारको अभावका कारण कम तलबमा धेरै जनशक्ति कामका लागि विदेशिएको भन्दै उक्त जनशक्तिलाई रोकेर स्वदेशमा कामको ग्यारेन्टी गर्न अभियान सञ्चालन गर्ने भएको हो ।

अभियानका संयोजक चिन्तन पौडेलले युवा वर्गमा देखिएको राजनीतिक वितृष्णा कम गरी स्वदेशमा रोजगारको सिर्जना गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

विभिन्न चरणमा सञ्चालन हुने अभियान पहिलो चरणमा यही ९ गतेदेखि १५ गतेसम्म हुनेछ । जसमा ९ गते सिन्धुली, १० गते सिरहा, ११ गते धनुषा, १२ गते रौतहट, १३ गते सप्तरी, १४ गते मोरङ, १५ गते सुनसरीमा अभियान सञ्चालन गरिने संयोजक पौडेलले बताउनुभयो ।

औंद्योगिक मेलामा ७७ जिल्लामा उत्पादित वस्तुको प्रदर्शन हुने

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा ७७ जिल्लाको औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

यही चैत ९ देखि १३ सम्म भृकुटीमण्डपमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम हुने भएको हो ।

‘स्वदेशी वस्तु प्रयोग गरौं, समृद्धि तर्फ अघि बढौं’ भन्ने मूलनाराका साथ आयोजना हुन लागेको प्रदर्शनीमा ७७ जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी गरिने समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले जानकारी दिनुभयो ।
प्रदर्शनीमा नेपाली हस्तकला र काष्ठकलाजन्य उत्पादन, परम्परागत तथा आधुनिक उपयुक्त प्रविधि, छाला जुत्ता तथा छालाजन्य वस्तु, प्राकृतिक रेशाबाट उत्पादित कपडा र वस्तु, बाँसका वस्तु, फलफूलमा आधारित उत्पादन, करुवा र खुकुरी, कृषि तथा वनजन्य उत्पादनका सामग्री राखिनेछन् ।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ३०० कक्ष रहने र पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । समितिले विसं २०४२ देखि राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्