Logo

सी र मोदी नेपाल आउनुहुने



Spread the love

काठमाडौंँ, चैत ४ गते । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ मा छिमेकी मुलुक भारत र चीनबाट नेपालको उच्चस्तरीय भ्रमण हुने बताउनुभएको छ ।

यो वर्ष नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्चस्तरीय भ्रमण हुने जानकारी उहाँले दिनुभयो । अमेरिका, बेलायत र जापानबाट समेत उच्चस्तरीय भ्रमणको पहल हुने जानकारीसमेत उहाँले दिनुभयो । “सन् २०१८ मा द्विपक्षीय उच्चस्तरीय भ्रमण हुनेछ, यो दृष्टिले नेपालको लागि यो वर्ष महìवपूर्ण हुन सक्छ,” उहाँले विश्वास व्यक्त गर्नुभयो ।
राजधानीमा शनिबार आयोजित एक साक्षात्कारमा नेकपा (एमाले)का सचिवसमेत रहनुभएका मन्त्री ज्ञवालीले सन् २०१६ मा नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे पहल भए पनि राजनीतिक अस्थिरताका कारण सम्भव हुन सकेन भन्दै यो वर्ष चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुने विश्वास व्यक्त गर्नुभयो । “मैले यसअघि चिनियाँ राष्ट्रपतिसँग कुरासमेत गरेको छु, उहाँ नेपाल आउन सकारात्मक हुनुहुन्छ,” ज्ञवालीले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत विदेश भ्रमणको गृहकार्य सुरु भएको जानकारी दिनुभयो तर कुन मुलुकको भ्रमणको तयारी भइरहेको त्यसबारे उहाँले केही खुलाउन चाहनु भएन । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुन लागेको हो भन्ने एक सञ्चारकर्मीको जिज्ञासामा उहाँले प्रधानमन्त्रीबाट पहिला कुन मुलुकको भ्रमण हुने हो, त्यसबारे तय भइसकेको छैन भन्नुभयो । अन्तर्राष्ट्रिय समुदायलाई नयाँ सरकारका सन्देश दिन प्रधानमन्त्रीको विदेश भ्रमणको गृहकार्य सुरु गरिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट विदेश भ्रमण हुनसक्छ तर कहाँबाट सुरु हुन्छ भन्ने तय भइसकेको छैन भन्नुभयो ।
अबका दिनमा मुलुकको राष्ट्रिय नीति तथा हितलाई बल पुग्ने गरी विदेश नीति तय गरिने बताउँदै उहाँले भारत र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्