राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल निर्वाचित हुनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले (राना)को पक्षमा ११ मत परेको थियो ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्वाचित भएको घोषणा गर्नुभएको थियो । दुवै उम्मेदवारको प्रस्तावमाथि राष्ट्रियसभाको आजको बैठकमा छलफल भई हस्ताक्षरसहितको मत विभाजन भएको हो । कूल ५९ सदस्यीय राष्ट्रियसभाको आजको बैठकमा ५६ सांसद उपस्थित हुनुहुन्थ्यो ।
बैठकमा काँग्रेसका मुक्ताकुमारी यादव र दुर्गा उपाध्याय अनुपस्थित रहनुभएको संघीय संसद सचिवालयले जनाएको छ । दाहालको प्रस्तावक दीनानाथ शर्मा र समर्थक दिलकुमारी थापा राउत रहनुभएको थियो भने आलेको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा सरिता प्रसाईं हुनुहुन्थ्यो ।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसक्नुभएको छ । संविधानको धारा, ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको व्यवस्था रहेको छ ।
राष्ट्रियसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रियसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।
राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी गर्नुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभाको अध्यक्षको अनुपस्थितिमा राष्ट्रियसभाको उपाध्यक्षले राष्ट्रिय सभाको अध्यक्षता गर्नेछन् ।
यसैबीच अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली मस्यौदा समितिको सदस्यमा रहने व्यक्तिहरुको नामावली हेरफेर गरिएको बैठकमा जानकारी गराउनुभयो । समितिमा यसअघि रहनुभएका सदस्य गणेशप्रसाद तिमिल्सिनाको सट्टामा खिमलाल भट्टराई र जीवन बुढाको स्थानमा रामनारायण विडारी रहनुभएको जानकारी गराइयो । राष्ट्रियसभाको अर्काे बैठक यही चैत १३ गते दिउँसो १ बजे बस्नेछ । (रासस)