Logo

मृत्यु र रोगबाट छुटकारा पाउनको लागि देवी कुष्माण्डाको यसरी पूजा अर्चना गरौँ !



Spread the love

आज नवरात्रको चौथो दिन अर्थात कुष्माण्डा देवीको पूजा गर्ने दिन । बडा दशैंको चौथो दिन आज विभिन्न शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिदै छ ।

तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने, देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गरेको देखिन्छ । देवीको स्वरूप मनोहर तथा दिव्य कांति युक्त रहन्छ ।

सम्पूर्ण जगतका हरकणमा ऊर्जा र प्राणशक्तिको अनुभवले नै मानिसलाई सफलताको विन्दूमा पुर्याउने गर्दछ । कुष्माण्डाको शाब्दिक अर्थलाई हेर्दा यसको अर्थ लौका एवं कुपिण्डो भन्ने हुन्छ । यसको प्रतिकात्मक अर्थले हामीहरुको प्राणशक्ति पनि कुपिण्डो वा लौका जस्तै आकार र स्वरुपको छ भन्ने बुझिन्छ ।

देवी भागवत अनुसार ब्रह्माण्डको उत्पत्ति पूर्व सृष्टिको अस्तित्व नभएको बेला चारैतिर जताततै अन्धकार व्याप्त थियो यस्तो अवस्थामा यी देवी कुष्माण्डाले मुसुक्क हाँसेर ब्रह्माण्डको सृष्टि गर्नुभयो पृथ्वीको यही सृष्टिको आदिस्वरूप नै देवी कुष्माण्डा हुन्।

धार्मिक मूल्य मान्यता

माता कुष्माण्डाको भक्तिले रोग, शोक नष्ट भई,आयु, यश र बलको वृद्धि हुनेछ साथै देवी कुष्माण्डा अल्प साधना या भक्ति मात्रले प्रसन्न हुने गर्दछ । माता कुष्माण्डालाई विशेषगरि सेतो वस्तुको परिकार अधिक प्रिय छ, साथै सबैप्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
कुष्माण्डाको पूजा विधि

सबैभन्दा पहिले कलश र उसमा स्थापना गरिएको नवदूर्गा एवं अरु भगवानहरुको पूजा गर्नुपर्दछ । त्यसपछि कुष्माण्डा देवीको पूजा गर्नुपर्दछ । पूजाको विधि सुरु हुनुभन्दा पहिले हातमा फूल लिएर देवीलाई प्रणाम गर्नुपर्दछ । त्यसपछि व्रत, पूजनको संकल्प गर्नुपर्दछ । त्यसपछि वैदिक एवं दूर्गा सप्तशती मन्त्रद्वारा कुष्माण्डा सहित समस्त स्थापित देवताहरुको षोडशोपचार विधिद्वारा पूजा गर्नुपर्दछ।
कुष्माण्डा देवीको स्तोत्र पाठ

दुर्गतिनाशिनी त्वंहि दरिद्रादि विनाशनीम्।
जयंदा धनदा कूष्माण्डे प्रणमाम्यहम्॥
जगतमाता जगतकत्री जगदाधार रूपणीम्।
चराचरेश्वरी कूष्माण्डे प्रणमाम्यहम्॥
त्रैलोक्यसुन्दरी त्वंहिदुःख शोक निवारिणीम्।
परमानन्दमयी, कूष्माण्डे प्रणमाभ्यहम्॥

कुषमाण्डाको ध्यान मन्त्र

वन्दे वांछित कामर्थे चन्द्रार्घकृत शेखराम्।
सिंहरूढ़ा अष्टभुजा कूष्माण्डा यशस्वनीम्॥
भास्वर भानु निभां अनाहत स्थितां चतुर्थ दुर्गा त्रिनेत्राम्।
कमण्डलु, चाप, बाण, पदमसुधाकलश, चक्र, गदा, जपवटीधराम्॥
पटाम्बर परिधानां कमनीयां मृदुहास्या नानालंकार भूषिताम्।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल, मण्डिताम्॥
प्रफुल्ल वदनांचारू चिबुकां कांत कपोलां तुंग कुचाम्।
कोमलांगी स्मेरमुखी श्रीकंटि निम्ननाभि नितम्बनीम्॥

प्रतिक्रिया दिनुहोस्