Logo

गुल्मी सदरमुकाममै यसरी चलेको छ गैरकानुनी तवरले एग्रोभेट



Spread the love

३ असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजारमै गैरकानुनी तवरले एग्रेभेट सञ्चालन गरेको रहस्य खुलेको छ । रेसुङ्गा नगरपालिका ९ अर्घाखाँची जिप पार्कमा रहेको पुष्पाञ्जली एग्रोभेट भाडामा लाइसेन्स लिएर सञ्चालन भइरहेको खुल्नमा आएको हो ।

सदरमुकाम तम्घास स्थित अर्जुन बोर्डिङ स्कुलमा अध्यापन गराइरहेकी शिक्षिका पुष्पा अधिकारीको लाइसेन्स लिएर जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरका केशव कुवँरले गएको मङ्सिर १० गते देखि एग्रेभेट चलाएको पाईएको हो । केशव कुवँरले पशुचौपायलाई उपचारसँगै विषादी, बिउबिजन समेत बेच्दै आएका छन् । जुन बेच्नको लागि उनिसँग योग्यता छैन ।

नियम अनुसार एग्रोभेट सञ्चालनका लागि १० कक्षा पास र सम्बन्धित विषयमा १८ महिनाको कोर्ष तथा नेपाल सरकारको औषधि व्यवस्था नियमावली बोमजिम ३५ दिनको तालिम लिएको हुनु पर्छ । त्यस्तै, विषादी बिक्री वितरणका लागि पनि एसएलसी पास र नेपाल सरकारले नै सञ्चालन गरेको कम्तीमा पनि १५ दिनको तालिम लिनु पर्छ भने बिउको लागि कृषि मन्त्रालयको सम्बन्धि कृषि ज्ञान केन्द्रबाट सञ्चालन गरिने पाँच दिने तालिम र परिक्षा समेत पास गर्नुपर्ने जिल्ला कृषि ज्ञान केन्द्र गुल्मीले जानकारी दिएको छ ।

तर, विगत ९ महिनादेखि कुवँरले सदरमुकाम तम्घासमा गैरकानुनी ढंगले निर्वाधरूपमा एग्रोभेट चलाउँदै आएका छन । उनको शैक्षिक योग्यता ८ कक्षा पास रहेको कुनै तालिम नलिएको स्वीकार गरेका छन् । भारतमा कृषि पढेको उनको दावी छ तर आवश्यक कागजपत्र देखाउन इन्कार गर्दै आएका छन् ।

जम्मा ८ कक्षा पास गरेका उनले एमबिबिएस डाक्टरले सिफारिस गरेपछि मात्रा चलाउन मिल्ने औषधी समेत बिक्री वितरण गर्दै आएका छन् ।

स्थानीयको व्यापक गुनासो गरेपछि हाम्रो टिमले कुवँरको एग्रोभेट र त्यस आसपासमा निगरानी बढाएको थियो । हाम्रो टिमको अनुगमनसँगै स्थानीयको सहयोगमा उनले गैरकानुनी ढंगले एग्रोभेट चलाएको प्रष्ट भएको हो ।


कुवँरले पुष्पा अधिकारीलाई मासिक केहि शुल्क तिरेर लाइसेन्स भाडामा लिएको हुन सक्ने अनुमान छ । पुष्पा अधिकारीले यस भन्दा अघि पनि रेसुङ्गा नगरपालिका ४ अर्खलेका भोजेन्द्र भण्डारीलाई एग्रोभेट सञ्चालन गर्नका लागि लाइसेन्स दिएको खुलेको छ । करिब ४ महिना सदरमुकाम तम्घासको उदिनढुङ्गामा लाइसेन्स भाडामा लिएर एग्रोभेट चलाएको स्वीकार गरेका छन् । आफुहरुको नाता पर्ने भएकाले कुनै शुल्क नतिरेको उनको भनाई छ ।

यता लाइसेन्सप्राप्त पुष्पा अधिकारीले भने आफ्नो पसल रहेको र आफुले काम गर्ने मान्छे राखेको बताइन् । उनले सबैकुरा बुझेर मात्र समाचार लेख्न सुझाव समेत दिएकी छन् ।

आफ्नो नाममा एग्रोभेट दर्ता नगरी अर्कैको नाममा दर्ता गरेर एग्रोभेट तथा औषधीजन्य पसल सञ्चालन गर्दा नेपालको कानुन अनुसार गैरकानुनी हो । यस्तो अवस्थामा गल्ती ठहर भए तीन वर्ष कैद वा २५ हजार जरिवाना अथवा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्