Logo

गुल्मीको मदाने गाउँपालिकाको डेरीमा अझै दूध बेच्न पाउँदैनन् दलित



Spread the love

३० भदाै, गुल्मी । मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष भयो । विस २०६३ साल जेठ २१ गते देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । राज्यले कानुन र संविधानमा छुवाछुत गर्ने पाईदैन भने पनि समाजमा अझै पनि छुवाछुतले जरो गाडेको छ ।


अहिले पनि खुलेयाम सार्वजनिक स्थलमा दलितमाथि विभेद गरिन्छ । जसको पछिल्लो उदाहरण हो मदाने गाउँपालिकामा गरिएको विभेद ।

मदाने गाउँपालिका–६ पुर्कोट दहमा पुर्कोट दह दुग्ध संकलन केन्द्र समितिद्वारा सञ्चालित दुग्ध डेरीमा दलितले आफ्नो दुध बेच्न पाएका छैनन् ।

मदाने गाउँपालिका–६ पुर्कोट दहको क्षेत्र दलित बस्तीको बाहुल्यता रहेको क्षेत्र हो । त्यस क्षेत्रका २० देखि २५ घरधुरीले भैंसी पालन गरी दुध उत्पादन गर्दै आएका छन् । घर नजिकै डेरी सञ्चालन भएपछि घरमा उत्पादन भएको दुध बेची नुन तेल किनेर गुजारा चलाउने सपना देखेका दलितहरु निराश भएका छन् । त्यस्तै, अर्को तर्फ स्थानीय सरकारले पशुपालनबाट किसानको आम्दानी बढाउने र कृषकलाई आत्मनिर्भर बनाउने योजनालाई गिज्याई रहेको छ । स्थानीय एक दलित अगुवाले भने, ‘हाम्रो दुध डेरीमा पनि चल्दैन हामीलाई समुहमा पनि मिसाइएको छैन, हाम्रो दुध खेर गइरहेको छ ।’

त्यस्तै स्थानीय तथा दलित मुक्ति मोर्चा गुल्मीका अध्यक्ष बसन्त गैरेले दलितहरुलाई झन अपहेलना गर्छन् की भन्ने डरले कतै उजुर गर्न नसकेको बताए । डरका कारण आँफुहरु अन्याय सहेर बस्न बाध्य भएको गुनासो गरे ।

विगत तीन वर्षदेखि सञ्चालित उक्त डेरीमा दलितले ल्याएको दुध मिसाए दुध बिक्दैन कि भनेर दुध नराखिएको दुग्ध डेरीका सञ्चालक शोभाखर पोख्रेलले बताए । उनले भने, ‘पहिला दुध राखिनथ्यो । पछि दलितको पनि दुध मिसिन्छ भने हल्ला भएपछि दुध बिक्री हुन छोडेको राख्न छोडियो’। मदाने गाउँपालिकामा प्रशस्त मात्रमा दुध उत्पादन हुने हुदाँ बजारीकरणको समेत समस्या रहेको उनले सुनाए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्