पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले आफूले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेका छन् ।फेसबुकमा एक मिनेटको अडियो क्लिपमा उनले भनेका छन्, ‘मैले अहिलेसम्म पुरस्कारमा पाएको कार पाएँ । तर ब्लुबुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’ यसै बिच नेपाल आइडलले पनि फेसबुक पेजमा स्टाटस लेख्दै यस बिसयमा क्लियर गर्न खोजेको छ ।नेपाल आइडलले फेसबुक पेजमा लेखेको स्टाटस :
केही अनलाईन पोर्टलहरुमा नेपाल आइडलसँग सम्बन्धित भ्रामक सामाग्री प्रकाशित गरे / गराईएकोमा नेपाल आइडलका आयोजक एपिवान एचडिको ध्यान आकृष्ट भएको छ र त्यसबारेमा स्पष्ट गर्न जरुरी ठानेका छौं ।तोकिएको र सम्झाैता अनुसारकाे पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ । पुरस्कारमै पाएको कारको साचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइ सकिएको छ र उक्त कार त्यतिबेलादेखि नै उनीसँगैछ ।
कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई कारको मूल्यको २५% (प्रतिशत) आकस्मिक लाभ कर तिर्नपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराईएको छ । उक्त कर नेपाल सरकारलाई तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौं ।
यसबाहेक विजेताले पाउने म्यूजिक एल्बमका लागि बुद्ध लामाले नै सिफारिस गरेका असु सेन लामालाई जिम्मा र अग्रिम रकमसमेत भुक्तानी गरिसकिएको छ जसको भिडियो एपीवान एचडिले निर्माण गर्नेछ । हो, विदेश भ्रमणमा रहेको बेला समयाभावका कारण उक्त एल्बम बनाउन ढिलो भएको बुद्ध लामालाई लाग्नु स्वभाविकै भयो तर सम्झौताको एक वर्ष सकिनअगावै यो सम्पन्न हुनेछ ।
यसरी सम्झौता बमोजिमनै सम्पूर्ण कार्य हुदै आएको सबैको जानकारीका लागि अनुरोध छ । साथै वास्तविकता नबुझि दूरासयपूर्ण तवरमा प्रकाशित अनलाईन समाग्रीहरुबाट सचेत रहन आग्रह गर्दछौ । नेपाल आइडलको मंचमार्फत एक परिवार/समूहबाट माथी उठदै आज सफलताको जुन तहमा बुद्ध लामा पुगेका छन त्यसमा एपिवान एचडिलाई गर्व छ किनकी यो एपिवान एचडिकै कारणले सम्भव भएको हो । बुद्ध लामालाई एपिवान एचडिका तर्फबाट भविष्यमा आउन लागेको उनको एल्बमका लागि शुभकामना ।
एपी वान टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो नेपाल आइडलका विजेता बनेका पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथमा उनले १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्टसमेत पाएका थिए ।