Logo

निवासविहीन बने मन्त्री



Spread the love

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी पदभार ग्रहणपछि निवासको जोहोमा लागे । तर सरकारी भवन अभावका कारण उनको निवासको टुंगो भएन।

त्यसपछि उनी बुटवलस्थित एक होटलमा बस्न थाले । अहिलेसम्म उनका लागि सरकारी निवासको व्यवस्थापन हुन सकेको छैन ।

उनका लागि होटलको बसाइ सहज छैन । महत्वपूर्ण भेटघाटका लागि निकै असहज भएको उनी बताउँछन् ।

‘कतिपय कुराहरु गोप्य र महत्वपूर्ण हुन्छन्, सोअनुसारको भेटघाट र छलफल होटलमा हुने कुरै भएन,’ मन्त्री केसीले भने, ‘सरकारी भवन अभाव रहँदा बसाइ निकै सकसपूर्ण बनेको छ।’

मन्त्री केसीको आवासका लागि भैरहवास्थित एक सानो सरकारी भवनको प्रस्ताव आयो । मन्त्रालयदेखि आधा घन्टा दुरीमा रहेको नेपाल–भारत सीमा क्षेत्र भैरहवा जान उनले मानेनन् ।

‘मन्त्रालय र मन्त्री निवासको दुरीको बारेमा हेक्का राख्नुपर्दैन ?’ उनले भने, ‘बुटवलमा मन्त्रालय अनि भैरहवामा मन्त्री निवास कसरी सम्भव हुन्छ ?’

प्रस्ताव गरिएको भवन बसोबासका लागि उपयुक्त नभएकाले पनि आफू नगएको उनी बताउँछन् । ‘सरकारी भन्दैमा जस्तो पायो त्यस्तै भवनमा गएर बस्ने ?’ उनले भने, ‘भैरहवामा प्रस्ताव गरिएको भवन उपयुक्त नभएपछि मैले अस्वीकार गरिदिएको हुँ । मेरा लागि प्रस्ताव गरिएको भवनभन्दा होटल नै ठिक छ।’, भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्