‘किर्ते कागज’ मा छानबिनका लागि प्रहरीबाट खोजी भइरहेका एमाले सांसद नवराज सिलवाल शनिबार संसद् प्रवेश गरेका छन्। सिलवाल संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले–माओवादी संसदीय दलको संयुक्त बैठकमा सहभागी भए भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
प्रहरीको खोजी सूचीमा रहेका सिलवाललाई संसद प्रवेशक्रममा प्रहरीले नै सलाम गरेका थिए। उनी कडा सुरक्षा घेरा पार गर्दै दलको बैठक कक्षमा पसेका थिए। बैठक कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिलवालसँग हात मिलाउँदै स्वागत गरे। गृहमन्त्री रामबहादुर थापा पनि त्यहीँ थिए। सिलवालसँग एमाले-माओवादीका अरु सांसदले पनि हात मिलाए। एक्कासि उनको प्रवेशलाई लिएर एमाले–माओवादीका सांसद, संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीले समेत मुखामुख गरे।